२०८३ असार ४ गते , विहीबार

ताप्लेजुङको फुङलिङमा फेरि आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप

sajilo news
ताप्लेजुङ
२०८१ फाल्गुन १० गते , शनिबार
ताप्लेजुङको फुङलिङमा फेरि आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप

केही दिनदेखि अशान्त बनेको ताप्लेजुङको फुङलिङमा आज साँझ फेरि आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । आज साँझ ६ः३० बजेदेखि फुङलिङ –४ स्थित पराजुली चोकबाट मुक्कुम्लुङ (पाथीभरा) केबलकार खारेजीको माग गर्दै पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बोको नेतृत्वमा संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय अध्यक्ष मित्र लिङदेन, सामाजिक अभियन्ता इन्दिरा धौरालीलगायत करिब ६०० जनाले मशाल जुलुस निकालेका थिए ।

सङ्घर्ष समितिका कार्यकर्ताहरूले “भ्रष्ट सरकार मुर्दावाद, केबलकार चाहिँदैन , चन्द्र ढकाल मुर्दावाद, एपीएफ गो ब्याक, आइएलओ–१६९ लागू गर , मुक्कुम्लुङ हाम्रो सान हो, प्रहरी दमन मुर्दावाद , योगेश भट्टराई मुर्दावाद, गृहमन्त्री राजीनामा दे, यो भूमि हाम्रो हो” जस्ता नाराहरु लगाउँदै फुङलिङ बजार परिक्रमा गरेका थिए ।

उक्त र्‍याली वीरेन्द्र चोकमा आएर टायर र मशाल बालेर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले मशाल नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच करिब १० मिनेट झडप भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्तरुपमा लाठीचार्ज गर्दै आन्दोलनकारीहरूलाई तितरबितर बनाएको थियो । हालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार