शेरबहादुर देउवाका भतिजी ज्वाइँसहित ३ जना डीआईजीमा बढुवा सिफारिस
सशस्त्र प्रहरीमा तीन जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन्। गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयले बिहिवार साँझ एसएसपीहरु कृष्ण ढकाल, दिपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टको नाम डीआईजी बढुवाका लागि सिफारिस गरेको हो।
एसएसपीहरुको वरियतामा अघि रहेका एसएसपी मनिष थापा र प्रविण कँडेललाई बढुवामा छुटाइएको छ। एसएसपी थापा सिसम १ र कँडेल नेपाल प्रहरीबाट स्थान्तरण भएका आएका अधिकृत हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजी ज्वाइँ एसएसपी कुँवर दुई नम्बरमा बढुवामा सिफारिस भएका छन्। एसएसपी बढुवा हुँदा उनि नियम संशोधन (सशस्त्र प्रहरी नियमावली,२०७२) गरेर नै ९९ नम्बरबाट सिधै एक नम्बरमा बढुवा भएका थिए।
अहिले पनि कुँवरले आफ्नो ब्याचबाट एकल बढुवा हुन निकै प्रयास गरेका थिए। कुँवरलाई एकल बढुवा गर्न कांग्रेस नेतृत्वको चर्को दबाब थियो। कुँवरका कारण लामो समय सशस्त्रमा बढुवा रोकिएको भन्दै त्यही विषयलाई लिएर संसदमा समेत रास्वपा सांसद मनिष झाले प्रश्न उठाएका थिए।
