२०८३ असार ४ गते , विहीबार

पाथीभरा केबलकार निर्माणस्थलमा झडप, प्रहरीद्धारा लाठीचार्ज र अश्रुग्याँस प्रहार

sajilo news
ताप्लेजुङ
२०८१ फाल्गुन ८ गते , विहीबार
पाथीभरा केबलकार निर्माणस्थलमा झडप, प्रहरीद्धारा लाठीचार्ज र अश्रुग्याँस प्रहार

ताप्लेजुङको फुङलिङ– ११ स्थित पाथीभरा केबलकारको बटम स्टेसनमा झडप भएको छ । आज दिउँसो ३.१५ बजे पाथीभरा केबलकारको बटम स्टेसनमा प्रहरीले तोकेको निषेधित क्षेत्रमा घेरा तोडेर आन्दोलनकारीहरू भित्र पस्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्थितिलाई नियन्त्रणमा लिन ५ सेल अश्रुग्याँस प्रहार गरेका छन् । प्रहरीको लाठी लागेर एकजना आन्दोलनकारी घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको हो । केहीबेर अघि तनावग्रस्त रहेको त्यहाँको स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङ फुङलिङ ११ काफ्लेपाटीस्थित केबलकार निर्माणस्थलको बटम स्टेसननजिक डाँडामा मुक्कुमलुङ ताःसेप चुम्भोका संस्थाहरू र अन्तरदलीय राजनैतिक पार्टीहरूको पूर्वघोषित कार्यक्रमअन्तर्गत “मुक्कुमलुङ बचाऔँ पदयात्रा” आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागी भई फिर्ता हुने क्रममा पदयात्रामा सहभागी अन्दाजी ३ सय जनाको समूहले निर्माण स्थलमा कोण सभा गर्न पाउनु पर्ने माग राखी संयुक्त प्रहरी टोलीमाथि ढुङ्गा मुढा प्रहार गरेका थिए । पदयात्रीहरूले सुरक्षा घेरा तोडेर ढुङ्गा मुढा प्रहार गर्दै निर्माणस्थलभित्र प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन माइकिङ गरी सम्झाई बुझाई गर्दा समेत नमानेकाले लाठीचार्ज, फुङलिङ नगरपालिकाको दमकलद्वारा पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ । आन्दोलनकारीहरूले मे १ ज २५७९ नम्बरको बोलेरो गाडी तोडफोड गरेका छन् ।

सम्बन्धित समाचार