२०८३ असार ४ गते , विहीबार

राजगद्दी त्यागेको विषयलाई कमजोरी नठानियोस् : पूर्वराजा ज्ञानेन्द्र

sajilo news
झापा
२०८१ फाल्गुन ६ गते , मंगलबार
राजगद्दी त्यागेको विषयलाई कमजोरी नठानियोस् : पूर्वराजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले त्यागले कसैको कद सानो नहुने बताएका छन्। उनले आफूहरूले राजगद्दी त्यागे पनि व्यवस्था बदलियो भन्नेहरूले अवस्था बदल्न नसकेको आरोप लगाए। अहिलेको व्यवस्थाले इतिहासलाई नास गरेर पहिचानको पनि अपमान गरिरहेको उनको आरोप छ। 

'प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्छ। जनताको भरोसा बढाउने प्रणाली हुनुपर्छ। आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो। व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो,' उनले शुभकामना सन्देशमा भनेका छन्।

पूर्व राजा ज्ञानेन्द्रले आफूहरूले राष्ट्रको हितमा उदारता देखाए पनि अहिलेको व्यवस्थाले सबै पक्षलाई नसमेटेको आरोप लगाए। 'हाम्रो यो नेपाल देश, भक्त पुर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो। त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं। त्यत्ति मात्र होइन हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौं। त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन। कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो।

हाम्रो त्यागको अर्थ र आसय पनि त्यही नै हो। हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभो लाग्दैनौ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं। विगतका कमीकमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटि सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस्,' उनले भनेका छन्।

सम्बन्धित समाचार