२०८३ असार ४ गते , विहीबार

मलेसियामा नेपालीले किन सहज तरिकाले उपचार पाउदैन् ?

sajilo news
झापा
२०८१ फाल्गुन ६ गते , मंगलबार
मलेसियामा नेपालीले किन सहज तरिकाले उपचार पाउदैन् ?

बुधबार दिनभर सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्बिर सहितको पोस्ट भाइरल जस्तै भयो। पोस्टमा लेखिएको थियो झापा घर भएका लालबहादुर लिम्बु बिरामी भई मलेसियाको अस्पतालमा रहेको र आफन्त तथा उनको परिवारलाई सम्पर्क आउन भनेर। त्यो पोस्ट देखेपछि मात्र मलेसियास्थित नेपाली दूतावास उनको उद्धार पहल थालेको छ।

विगत १५ वर्षदेखि मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका उनी त्यहाँको जोहोरमा एक कम्पनीमा सुरक्षा गार्डमा काम गर्दै आएका थिए । उनी केही दिन अघिमात्र ड्युटी गर्ने क्रममा अचानक उच्च रक्तचाप भैँ छाती दुख्यो भन्दै छटपटाइरहेको अवस्थामा केही साथीहरूले देखेर अस्पताल पुर्‍याएका थिए।

उनी बिरामी परेर अस्पताल भर्ना गरिएपछि सञ्जालमार्फत आफन्तको खोजी भइरहेको बेला दूतावासले पनि उनी कार्यरत कम्पनीसँग उनको अवस्थाबारे सोधखोज गरेर उद्धार कार्य अगाडी बढाइएको जनाएको छ।

दूतावासको पहलमा कम्पनीले उनको उपचारमा लाग्ने अस्पतालको शुल्क र औषधि बापतको २ हजार मलेसियन रिंगेट तिरिदिने र स्वास्थ्यमा सुधार भएपश्चात् कम्पनीकै आर्थिक सहयोग स्वदेश फर्काइदिने समझदारी भएको जनाएको छ।

मलेसियाका कतिपय रोजगारदाता कम्पनीहरूले ड्युटीको समय वा बिदाको दिनमा घुम्न बाहिर निस्किएर कुनै दुर्घटनामा परे उपचार नगर्ने गरेको कारण त्यहाँ कार्यरत धेरै नेपालीहरूले कम्पनीले उपचार नगरेको भन्दै आर्थिक सहयोग माग्ने गरेका छन् ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइँ, व्यवहारजन्य समस्या लगायतका कारण बिरामी हुँदा नेपाली कामदारले सहज रुपमा अस्पतालमा उपचार गराउन पाउदैन्। कुनै पनि कानुनको उलङ्घन नगर्न र कुनै करणवश त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ ।

मलेसिया जाने नेपालीको सङ्ख्या बढेसँगै गैरकानुनी रुपमा काम गर्नेको सङ्ख्या पनि उच्च रहेको भन्दै गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गर्दै आएको छ। गैरकानुनी रुपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने , सामाजिक सुरक्षा कोष (सोक्सो) ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब ३ महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने गरेको छ ।

सम्बन्धित समाचार