दमकबाट प्रचण्डले भने- नेपाली जनताले फेरि पनि माओवादीको नेतृत्व चाहेका छन्

झापा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सुशासन र सामाजिक न्यायका पक्षमा सदैव रहने प्रतिबद्धता व्यक्त गरेका छन्। माओवादी केन्द्र दमक नगर कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन एवं पार्टी प्रवेश तथा खबरदारी सभामा उनले आफूले सरकारको नेतृत्व गर्दा भ्रष्टाचार र सामाजिक विभेदका विरुद्ध, सुशासन र सामाजिक न्यायका पक्षमा काम गरेको स्मरण गरे। उनले आर्थिक सङ्कटबाट देशलाई मुक्त बनाउन पार्टीले खबरदारी अभियान सञ्चालनमा जोड दिएको बताए।
सरकारबाट बाहिरिएपछि पार्टीले जनताका बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले देशलाई विकास र समृद्धिको पक्षमा लैजान नेपाली जनताले फेरि पनि माओवादीको नेतृत्व चाहेको धारणा राखे।
पार्टीले देशव्यापी रूपमा खबरदारी सभा, जागरणमूलक कार्यक्रमलगायत अभियान सञ्चालन गरिरहेको जनाउँदै उनले पछिल्लो समय स्थानीय तहको उपनिर्वाचनको नजितादेखि सङ्घीयता, सुशासन, परिवर्तनका पक्षमा माओवादीप्रति जनताको भरोसा बढ्दै गएको देखिएको बताए।
उनले आफूले प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको भन्दै सरकारबाट बाहिरिएपछि सुशासनको ‘एजेन्डा’लाई लिएर देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पारे।
भ्रष्टाचारका कारण विकास र समृद्धि हासिल हुन नसकेको बताउँदै उनले यस अभियानमा सबै राजनीतिक दल, अभियानकर्मी, आम नागरिकको समन्वय र सहकार्यको अपेक्षा गरे।
अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सोही अवसरमा पार्टी अध्यक्ष दाहालले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई स्वागत गरेका थिए।