झापाका प्रवक्ता चन्दसहित १० डीएसपीको सरुवा
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा प्रवक्ता कृष्णकुमार चन्दको सरुवा भएको छ । झापामा एक वर्ष अघि आएका चन्द अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । प्रहरी संगठन भित्र स्वच्छ छवि र विषय विज्ञको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल प्रहरी नायव उपरीक्षक चन्दले झापाका रहँदा अपराध न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
समाजमा शान्ति सुरक्षा कायम गर्न नागरिकसँग हातेमालो गर्दै समुदाय साझेदारी अन्तरगत विभिन्न कार्यक्रमहरूलाई प्रहरी प्रवक्ता समेत रहेकामा चन्दले निरन्तरता दिएका थिए । झापामा भएका हत्या, चोरी, दुर्घटना लगायतका विषयमा भएका आन्दोलन तथा राजनीतिक समूहहरूले गरेका आन्दोलनलाई शान्तिपूर्ण रुपमा समाधान गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी नायव उपरीक्षक चन्दले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
झापाको जिम्मेवारी सम्हाले लगत्तै डीएसपी चन्दले सञ्चारमाध्यमहरूलाई सूचना सम्प्रेषणमा तदारुकता देखाउँदै कुनै पनि घटनाहरूको विवरणहरू तत्काल उपलब्ध गराउनुका साथै शान्ति सुरक्षा र अपराध अनुसन्धानमा असर नपर्ने विवरणहरू तत्काल उपलब्ध गराएर मिडियामैत्री वातावरण बनाएका थिए ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना डिएसपीको काज सरुवा गरेको हो । रिक्त रहेका कार्यालयहरूमा काज सरुवा भएको हो । काठमाडौंको जनसेवा वृत्तमा झापामा प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको सरुवा भएको हो ।
त्यस्तै दोलखामा डिएसपी ज्ञानकुमार महतो, रसुवामा हेमबहादुर शाही, महाराजगन्ज वृत्तमा निरञ्जन थापा, इलाका प्रहरी कार्यालय, बुटवलमा इन्द्र राना तथा इलाका प्रहरी कार्यालय गजुरीमा विकास थापालाई खटाइएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राजन लामाको सरुवा भएको छ ।
काँकडभिट्टाका मिम लामाको मानव स्रोत विकास विभाग, रसुवाका केशव भट्टराईको प्रधानमन्त्री कार्यालय तथा बुटवलमा विजयराज पण्डितको प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्का तथा चितवनमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।