२०८३ असार ४ गते , विहीबार

मोरङमा नाबालिकासहित पोखरीमा हामफालेकी महिलाको उद्धार, शिशुको मृत्यु

sajilo news
मोरङ
२०८१ फाल्गुन ३ गते , शनिबार
मोरङमा नाबालिकासहित पोखरीमा हामफालेकी महिलाको उद्धार, शिशुको मृत्यु

मोरङको बेलबारीमा नाबालिका छोरीसहित पोखरीमा हामफालेकी महिलाको उद्धार गरिएको छ। उद्धार गरेर उपचारका लागि पठाइएपनि शिशुको भने मृत्यु भएको प्रहरीले जनाएको छ।  मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित माछा पोखरीमा हामफालेकी थिइन्। 

घटना शुक्रबार साँझ ७:३० बजेतिरको हो। नाबालिका छोरीलाई लिएर निस्किएकी प्रीतिले घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको पनैलाल चौधरीको माछा पोखरीमा हामफालेको इन्स्पेक्टर ओलीले बताए। हामफालेको देखेपछि स्थानीयले पोखरीबाट उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा पठाएका थिए। अस्पताल पुर्‍याउनसाथ राति ८:३० बजेतिर शिशुलाई भने चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। 

उनको आमाको पनि अवस्था गम्भीर छ। आईसीयूमा राखेर उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। इन्स्पेक्टर ओलीका अनुसार शिशुसहित आमाले पोखरीमा हामफाल्नुपर्ने कारण पत्ता लागेको छैन। 

‘शिशु अवस्थाकी छोरीसहित आमाले माछा पोखरीमा हामफालेको पाइयो। स्थानीयले उद्धार गरेर उपचारका लागि पठाएछन्। अस्पताल पु्र्‍याएपछि शिशुलाई चिकित्सकले मृत घोषित गरिदिए। गम्भीर अवस्थाकी आमाको उपचार भइरहेको छ। तर, घटनाको कारण थाहा हुन सकिरहेको छैन। थप अनुसन्धानबाट वास्तविकता पत्ता लाग्ला,’ उनले भने। शिशु अवस्थाकी छोरीसहित पत्नीले पोखरीमा हामफाल्दा पति गंगाराम भने घरमा थिएनन्। प्रहरीका अनुसार उनी दूध पुर्‍याउन बजार गएका बेला घटना भएको पाइएको छ।

सम्बन्धित समाचार