२०८३ बैशाख २३ गते , बुधबार

झापाको लसुनगञ्ज नाका लागूऔषधको अखडा बनेपछि प्रहरी आक्रामक

sajilo news
झापा
२०८१ फाल्गुन २ गते , शुक्रबार
झापाको लसुनगञ्ज नाका लागूऔषधको अखडा बनेपछि प्रहरी आक्रामक

पछिल्लो समय झापाको मुख्य ट्रान्जिट पोइन्ट बनेको दक्षिणी कुमरखोदको लसुनगञ्ज नाकाबाट लागूऔषध भित्र्याएर कनकाई नगरपालिकालाई कारोबारीहरूले अखडा बनाएपछि प्रहरी आक्रामक भएर लागेको छ ।

केही समययता पूर्वी नाका काँकडभिट्टा र भद्रपुरभन्दा लसुनगञ्ज नाकालाई कारोबारीहरूले उपयुक्त ठानेपछि लागूऔषधको धन्दा मौलाएको हो । लसुनगञ्ज नाकाको सिधा कनेक्सन कनकाई नगरपालिकासँग जोडिएको छ । लसुनगञ्ज नाकाबाट अमरपथ हुँदै कनकाई नगरपालिकामा लागूऔषध भित्र्याएर कारोबारीहरूले सुरुङ्गामा अखडा नै बनाएका छन् । सुरुङ्गामा रहेका डिलरबाट दमक, इलाम , धरानलगायतका ठाउँमा लागूऔषध आपूर्ति हुने गरेको बताइन्छ । अमरपथको बाटो हुँदै लसुनगञ्ज र सुरुङ्गाको दूरी मात्र २४ किलोमिटर रहेको छ ।

यसरी कनकाई नगरपालिकामा लागूऔषधको कारोबार फस्टाउँदै गएपछि प्रहरीले पहिलोपटक गोली चलाएर दुईजना कारोबारीलाई पक्राउ गरेको छ । गत माघ २२ गते गोली हानेर लागूऔषधका दुई भारतीय कारोबारीलाई सुरुङ्गा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुरुङ्गाको इन्चार्जको रुपमा प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल आएपछि लागूऔषध नियन्त्रणका लागि प्रहरीले मिसन नै शुरु गरेको छ ।

भद्रपुर वडा प्रहरी कार्यालयबाट आएर सुरुङ्गा प्रहरीको कमान्ड सम्हालेको दाहालले करिब तीन साता जति भएको छ । त्यस अवधिमा लागूऔषधका दुई भारतीय कारोबारीसहित तीन जना पक्राउ परिसकेका छन् । त्यस्तै अदालतबाट सजाय तोकिएर फरार रहेका तीन जनालाई उनले पक्राउ गरी अदालतसमक्ष पेस गरेका छन् । तालिम केन्द्र विराटनगरमा प्रशिक्षक रहेका दाहालको नेतृत्वमा सादा पोसाकमा प्रहरी टोली अपरेशनमा खटिने गरेको जनाइएको छ । लागूऔषध ठुलो समस्याको रुपमा देखिएपछि मिसनकै रुपमा खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक दाहालले बताए । उनले प्रहरी एक्सनसँगै सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्न लागिएको जानकारी दिए ।

सुरुङ्गा प्रहरीले चालेको कदमप्रति स्थानीय जनप्रतिनिधिहरूले प्रशंसा गरेका छन् । लागूऔषधको समस्या भयावहरुपमा बढिरहेकाले प्रहरी प्रशासन अब निर्मम भएर लाग्नुपर्ने कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । अहिलेका प्रहरी इन्चार्जले देखाएको सक्रियता राम्रो रहेको भन्दै उनले त्यस अभियानमा स्थानीय सरकारको सहयोग रहने धारणा राखे । अपरिचित व्यक्तिहरूलाई कोही कसैले पनि बास दिन नहुने भनेर नगरपालिकाले अपिल गर्दै आएको उनले जानकारी दिए ।

त्यस्तै कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाँईले लागूऔषधको रेडजोनमा परेको सुरुङ्गालाई त्यस समस्याबाट न्यूनीकरण गर्न वडा कार्यालयका तर्फबाट प्रहरीलाई सक्दो सहयोग र समन्वय रहने बताए । उनले बालमैत्री नगरपालिका घोषणा हुन लागेको कनकाईमा देखिएको लागूऔषधको समस्या न्यूनीकरणका लागि बाल क्लबहरूलाई पनि परिचालन गर्न आवश्यक रहेको जोड दिए ।

कनकाईमा लागूऔषध दुर्व्यसनी बढेसँगै पुनर्स्थापना केन्द्र पनि थपिँदै गएका छन् । कनकाई ३ मा ३ वटा र वडा न ४ मा एउटा पुनर्स्थापना केन्द्र खोलिएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडको मातहतमा रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाई वडा नं १ देखि ७ सम्म हेर्ने गर्दछ । सोही कार्यालयअन्तर्गत अस्थायी प्रहरी पोस्ट दुर्गापुर रहेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्रहरी वरिष्ठ नायव निरीक्षकको कमान्डमा १६ जना र अस्थायी प्रहरी पोस्ट दुर्गापुरमा ४ जना जनशक्ति रहेका छन् । करिब ५० हजार जनाको शान्ति सुरक्षाको जिम्मेवारी सुरुङ्गा प्रहरीको काँधमा रहेको छ ।

सम्बन्धित समाचार