झापा सिडिओ कार्यालयभित्रै कुटाकुट भएपछि...
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै कुटाकुट भएको छ । कुटाकुट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार ठगीका विषयमा हिजो डाकिएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको कार्यकक्षमै कुटाकुट भएको हो । कम्बोडिया पठाउने नाममा ठगी गरेको उजुरीका विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल डाकिएको थियो ।
ठुलो सङ्ख्यामा सहायक प्रजिअको कार्यकक्षमा प्रवेश गरी होहल्ला गर्दै कुटाकुट गरेको जनाइएको छ । आफूले चुप लाग्न आग्रह गर्दा पनि होहल्ला गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको सहायक प्रजिअ नेपालले बताए । आफ्नो कार्यकक्षमा होहल्ला गरे पनि कुटाकुट कार्यकक्षभन्दा बाहिर गरेको उनले जानकारी दिए ।
कुटाकुट गर्ने पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको थियो । उनीहरूलाई साँझपख छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानले बताए ।