तापक्रम वृद्धि रोक्ने लक्ष्य हासिल गर्न अब असम्भव

वैज्ञानिकहरुले विश्वव्यापी तापक्रम वृद्धि २ डिग्री सेल्सियसमा नै रोक्ने लक्ष्य हासिल गर्न अब असम्भव भएको बताएका छन्। उनीहरुले यसबारे दिएको प्रतिवेदनलाई तीव्र गतिमा बढिरहेको पृथ्वीको तापमानका सन्दर्भमा गम्भीर चुनौती ठानिएको छ। बढ्दो हरितगृह ग्यास उत्सर्जनलाई पृथ्वीको जलवायुसँग जोडेर यसअघि जति संवेदनशील ठानिएको थियो त्योभन्दा निकै गम्भीर रहेको निष्कर्ष नयाँ प्रतिवेदनले निकालेको छ।
चर्चित जलवायु वैज्ञानिक जेम्स ह्यान्सनको नेतृत्वको टोलीले तयार पारेको उक्त प्रतिवेदन ‘वातावरण : विज्ञान र दिगो विकासको लागि नीति’ पत्रिकामा छापिएको छ। यसअलावा, सकारात्मक मान्न सकिने एउटा घटनाका कारण यो संकट थप बढेको दावी गरिएको छ। ‘ढुवानी उद्योगबाट सिर्जित एयरोसोल प्रदूषणले सूर्यको प्रकाशलाई रोक्छ, जसले गर्दा विश्वव्यापी तापक्रम वृद्धिको प्रभावलाई थोरै कम गर्छ तर हालमा यो प्रदूषण घटेको छ, जसले तापक्रम वृद्धिको गतिमा क्षति पुर्याएको छ’ प्रतिवेदनमा भनिएको छ।
गम्भीर चेतावनी
ह्यान्सन पहिले नासाका शीर्ष जलवायु वैज्ञानिक थिए। उनी सन् १९८८ मा अमेरिकी संसदमा दिएको एउटा वक्तव्यका लागि चर्चित छन्, जुन वक्तव्यमा उनले विश्वव्यापी तापक्रम वृद्धि शुरु भएको घोषणा गरेका थिए।
ह्यान्सनले पछिल्लो समय एउटा कार्यक्रममा संयुक्त राष्ट्र संघीय जलवायु समितिले खिचेको महत्वाकांक्षी तस्वीरलाई ‘असम्भव परिदृश्य हो’ भनेका छन्।
राष्ट्र संघीय समितिले सन् २१०० सम्ममा तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा मुनि नै राख्ने ५० प्रतिशत सम्भावना रहेको बताएको थियो। जसलाई ह्यान्सनले असम्भव बताएका हुन्।
‘२ डिग्रीको लक्ष्य अब सकिइसकेको छ,’ उनले भने। अर्कोतर्फ, जीवाष्म इन्धन जलाएर वातावरणमा निस्कने हरितगृह ग्लासहरूले तापक्रममा थप वृद्धि सुनिश्चित गरिदिएको वैज्ञानिकहरूको तर्क छ।
आगामी वर्षहरूमा विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियस वा सोभन्दा माथि रहने र सन् २०४५ सम्ममा 2 डिग्रीको आसपास पुग्ने उनीहरुले अनुमान गरेका छन्। आगामी २०–३० वर्षमा, ध्रुवीय बरफ पग्लने र उत्तरी एट्लान्टिकमा बढ्ने जलस्तर वृद्धिले एट्लान्टिक मेरिडियनल लहरलाई रोकिदिने पनि वैज्ञानिकहरूले घोषणा गरेका छन्।
यो लहरले संसारका धेरै कुनाहरूमा आवश्यक ताप पुर्याउँछ र समुद्री जीवहरूका लागि आवश्यक पोषक तत्वहरू पनि ल्याउने काम गर्छ तर यसको अन्त्यसँगै समुद्री सतह बढ्ने जस्ता धेरै समस्याहरू आउने प्रतिवेदनमा उल्लेख छ। ‘त्यसैले, हामी यो छालको अन्त्यलाई त्यो विन्दु मानिरहेका छौँ, जहाँबाट फर्कन सम्भव छैन’ रिपोर्टमा भनिएको छ।
कदम उठाउनुपर्ने खाँचो
सन् २०१५ मा, विश्वभरका देशहरूले जलवायुसम्बन्धी पेरिस सम्झौतामार्फत यस शताब्दीको अन्त्यसम्ममा, विश्वव्यापी तापक्रमलाई औद्योगिक युगको प्रारम्भअघिको स्तरबाट १.५ डिग्री सेल्सियसभन्दा धेरै बढ्न दिइने छैन भनि सम्झौता गरेका थिए।
पेरिस सम्झौताले दशकौंमा देखिने दीर्घकालीन प्रवृत्तिको बारेमा बोलेको थियो तर युरोपेली संघको जलवायु अनुगमन प्रणाली कोपर्निकसको तथ्याङ्कले यो लक्ष्य पार भइसकेको देखाइसकेको छ।
तापक्रम २ डिग्री बढ्दा नै गम्भिर असर पर्नेछ। नयाँ प्रतिवेदन लेख्ने वैज्ञानिकहरू आफ्ना निष्कर्ष डरलाग्दो रहेको स्विकार्दै परिवर्तनको लागि इमानदारी आवश्यक रहेको ठान्छन्।
‘जलवायु मूल्याङ्कन यथार्थपरक नहुँदा र हालका नीतिहरू प्रभावकारी बनाउन नसके युवाहरूको भलो हुने छैन’ उनीहरुले प्रतिवेदनमा भनेका छन्।