प्रेस चौतारी झापाले मनायो २७ औं स्थापना दिवस

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले २७ औं स्थापना दिवस मनाएको छ ।प्रेस चौतारी झापाले धार्मिक तथा पर्यटकीय क्षेत्र शिवसताक्षी–१० स्थित दोमुखामा स्थापना दिवस मनाएको हो ।
सोही कार्यक्रममा प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा आर्थिक सहयोग जुटेको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईँले आफ्ना श्रीमान ज्ञानुराम प्रसाईँको स्मृतिमा ५१ हजार रकम पत्रकार उपचार सहयोग कोषमा हस्तान्तरण गर्ने घोषणा गरेकी छन् । यस्तै पत्रकार उपचार कोषकी संयोजक भिमा शिवाकोटीलगायतले समेत रकम प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँ, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । वनभोजसहित आयोजना गरिएको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । त्यस अवसरमा अश्लील, मिथ्या तथा भ्रामक विषयवस्तु प्रचारप्रसारविरुद्ध झापाली पत्रकार प्रतिबद्ध छौ भन्दै हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।
यस्तै प्रेस चौतारी झापाको गत माघ ११ गते सम्पन्न १० औं अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो कार्यक्रमको सहजीकरण निर्वाचन समिति सदस्य गोपाल काफ्लेले गरेका थिए ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राजु पोखरेलले गरेका थिए भने सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, हल्दीबारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराईलगायत विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधि, एमालेका विभिन्न तह तप्काका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।