२०८३ असार ४ गते , विहीबार

बिर्तामोड व्यापार महोत्सव समापन, पत्रकार पुरीसहित १७ जना सम्मानित

sajilo news
झापा
२०८१ माघ २१ गते , सोमबार
बिर्तामोड व्यापार महोत्सव समापन, पत्रकार पुरीसहित १७ जना सम्मानित

गत माघ ८ गतेदेखि जारी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ समापन भएको छ ।उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच सोमवारबाट महोत्सव समापन भएको हो । माघ १९ गते समापन गर्ने गरी महोत्सवको आयोजना गरिएपनि दुई दिन समय थप गर्दै २१ गतेसम्म महोत्सव सञ्चालन गरिएको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा महोत्सव बिर्तामोड – ५ स्थित धर्मकाटा रोडमा आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादन देखि अन्तर्राष्ट्रिय औद्योगिक घरानाका सामग्री बिक्रीका लागि राखिएको थियो ।यसैबीच महोत्सव समापन सत्रको अवसर पारेर सञ्चारकर्मी सहित सफल व्यवसायी, कृषक,  महिला उद्यमी,  स्वास्थ्यकर्मी, खेलाडी, सामाजिक क्षेत्रका अगुवालाई सम्मान गरिएको थियो ।

अनलाइन पत्रिका ‘शब्दपत्र डटकम’ का सम्पादक तथा प्रकाशक उद्धव पुरीलाई नगद ११ हजार सहित सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै संघका पूर्व अध्यक्ष राम लोचन न्यौपाने, डा. प्रियङ्का कार्की, विवेक केशरी प्रसाईँ, झापा गोल्ड कपका अध्यक्ष केदार गिरी, कृषक सन्तोष सुवेदी, महिला उद्यमी टिकादेवी उप्रेती, गीता खतिवडा, व्यवसायी लक्ष्मी उदास, राम नन्दन शाह, खेल क्षेत्रबाट दिपेन धिमाल, व्यवसायी दिनेश मित्तल , रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल , महिला उद्यमी समूहकी अध्यक्ष राधिका हुमागाईँ, रुपा भुजेल,उमा उप्रेतीलाई सम्मान गरिएको थियो ।

महोत्सव मूल आयोजक समितिका संयोजक विशाल थापाले स्वागत गरेको कार्यक्रममा पूर्वअध्यक्षहरुका तर्फबाट कुमार भट्टराई, महिला उद्यमी पार्वता खरेल विमली  सम्मानित व्यक्तित्वहरूका तर्फबाट दिनेश मित्तल , संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडा र सञ्चारकर्मी केशव भट्टराईले संयुक्त रुपमा गरेका थिए ।

सम्बन्धित समाचार