२०८३ असार ४ गते , विहीबार

दमकका अग्रज व्यवसायीहरूलाई सम्मान, पत्रकार राई पुरस्कृत

sajilo news
झापा
२०८१ माघ १८ गते , शुक्रबार
दमकका अग्रज व्यवसायीहरूलाई सम्मान, पत्रकार राई पुरस्कृत

दमक। दमकस्थित दमक उद्योग वाणिज्य संघले ३३ औं वार्षिक साधारण सभाको अवसरमा दमकका अग्रज व्यवसायीहरूसहित एक जना पत्रकार सम्मानित भएका छन् ।

संघले आज शुक्रबार आफ्नै सभाकक्षमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यमा साधारण सभाका बीच सो सम्मान कार्यक्रम गरेको हो । साधारण सभामा प्रमुख अतिथि राउत, विशिष्ट अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईँ , नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापा लगायत विशिष्ट व्यक्तित्वहरूले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका छन् ।

संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ ( गोपाल)को सभापतित्वमा सञ्चालित सो कार्यक्रममा बर्षेनी प्रदान गरिँदै आएको वाणिज्य पत्रकारिता पुरस्कारबाट झापा दमकमा रहेर दुई दशक अघिदेखि पत्रकारितामा क्रियाशील अनिलदेव राईलाई नगद ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कारबाट सम्मान गरिएको हो ।

पत्रकार राईसँगै सहित संघमा लामो समयदेखि योगदान पुर्‍याउने अग्रज व्यवसायीहरू धनपति बराल, यामनाथ आचार्य, राजकुमार भट्टराई र गणेश श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको दमक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ज्ञाननाथ पौडेलले जानकारी दिए ।   यसैगरी उत्कृष्ट व्यवसायी सम्मानबाट  नूतन राइस मिल्सका सञ्चालक रुद्रप्रसाद तिम्सिना ,चाम्लिङ फोटो स्टुडियोकी सञ्चालिका रामदिपा राई , श्रेष्ठ छापाखानाका गणेश श्रेष्ठलाई सम्मान गरिएको छ ।

सभामा गत आर्थिक वर्ष २०८०/०८१ भित्र संघको आजीवन सदस्यता प्राप्त गर्ने ६ जना व्यवसायीहरूलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको संघका तृतीय उपाध्यक्ष रुबल अधिकारीले जानकारी दिए । यस पटक आजीवन सदस्यता लिनेहरूमा सुनौलो फर्माका सञ्चालक बुद्धिशेखर बजगाईँ ( विवेक), सुजन फर्मा प्रालिका विप्लव लिम्बु, गणेश सर्जिकलका गणेश प्रधान, पञ्चमुखी सप्लायर्सका लोचनप्रसाद नेपाल, पदमदेवी फार्मेसीका प्रहर क्षेत्री र शिव आयुर्वेदका युवराज भट्टराई रहेका छन् ।

सो अवसरमा संघको कार्यसमिति बैठकमा शत प्रतिशत उपस्थिति जनाउने सदस्य तुलसीराम तिम्सिनालाई पनि सम्मान गरियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश अध्यक्ष राउत, दमक नगर उपप्रमुख भट्टराई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सभामा दमक उद्योग वाणिज्य संघ स्थापनाको ४६ वर्षको इतिहास समेटिएको संक्षिप्त वृत्तचित्र “दमक उद्योग वाणिज्य संघ हिजोदेखि आज सम्म” प्रस्तुत गरिएको थियो ।

संघसँगको सहकार्यमा निष्कर्ष मिडिया प्रालिले तयार पारेको सो वृत्तचित्र सार्वजनिक गर्दै संघका अध्यक्ष गुरागाईँले संघले पहिलो पटक प्रविधिको उच्चतम सदुपयोग गर्दै यस किसिमको वृत्तचित्र प्रस्तुत गरेर संघको इतिहासलाई स्मरण गर्ने प्रयास गरेको उल्लेख गरे ।संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले सभामा सहभागीहरूलाई स्वागत गर्दै उद्योग वाणिज्य संघको साखलाई समाजमा उच्चो बनाउँदै अघि बढाउन प्रयत्नशील रहेको उल्लेख गरे ।

खड्काले अहिले सम्मका प्रगतिहरूको समीक्षा गर्दै संघ निरन्तर व्यवसायीक हक हितका योजना र कार्यक्रमहरू लिएर अघि बढेको पनि बताए । साधारण सभामा अध्यक्ष गुरागाईँले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाको सञ्चालन संघका प्रथम उपाध्यक्ष राजकुमार योङयाले गरेका थिए ।

 

 

सम्बन्धित समाचार