झापाका मेला-महोत्सवमा हाउजी खेलाउन प्रतिबन्ध
चौतर्फी विरोध भएपछि प्रहरी प्रशासनले झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ । जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अबदेखि खेलाउन नदिने भएको हो ।
माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले रोक लगाएको हो । महोत्सवको दोस्रो दिन हाउजीका लागि माइकिङ गरेदेखि नै विरोध शुरु भएको थियो । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले तेस्रो दिन हाउजी खेलाएकोमा त्यसपछि प्रहरी प्रशासनले खेलाउन प्रतिबन्ध लगाएको हो ।
त्यसैगरी आगामी फागुन ७ देखि १७ गतेसम्म बिर्तामोड १० सैनिक बजारमा आयोजना गर्नेगरी सैनिक महोत्सवको अनुमति लिन जाँदा जिल्ला प्रशासन कार्यालयले हाउजी खेलाउने अनुमति नदिएको आयोजकले जनाएको छ । हाउजी जुवाजन्य खेल भएको भन्दै चौतर्फी विरोध आएपछि हाउजी खेलाउन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले भने,‘ अबदेखि जुवाजन्य कुनै पनि खेल खेलाउन अनुमति दिइने छैन ।’
यसअघि प्रशासन कार्यालयको अनुमति लिएर झापामा पैसा कमाउनकै लागि लगातार हाउजी खेल खेलाइँदै आएको थियो । प्रत्येक मेला महोत्सवमा हाउजीलाई विकृतिकै रुपमा खेलाइने गरिन्थ्यो । कहिलेकाहीँ मात्र नभएर बिर्तामोडको सिटी सेन्टर , अर्जुनधाराको शनिश्चरे बजारलगायतका ठाउँमा पेसाकै रुपमा हाउजी लगातार सञ्चालन गरिएको थियो ।
सरकारी बजेट पचाउन र जुवा खेलाउनकै लागि बाक्लै आयोजना गर्ने गरिएका महोत्सवमा हाउजीसँगै सिक्सर , लक्की सेभेनजस्ता जुवाजन्य खेल पनि निर्बाध खेलाउने गरिएको थियो । यसअघिका प्रमुख जिल्ला अधिकारीहरूले पनि हाउजीमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । तर, जनप्रतिनिधिहरूले त्यसलाई मानेका थिएनन् ।