भद्रपुर झापा गोल्डकपः टिकट काट्ने दर्शकले मोटरसाइकल पाउने
भद्रपुर । दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एक जनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको गोल्डकपका अध्यक्ष दीपेश ढकालले बताए ।
यही फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका आधारमा लक्की ड्रमार्फत मोटरसाइकल पाउने ढकालले जानकारी दिए ।
त्यस्तै, प्रिक्वार्टर, क्वार्टर र सेमिफाइनलका खेल हेर्न टिकट लिएर आएका दर्शकलाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हिमस्टार एलइडी टिभी प्रदान गर्नेछ ।यसैबीच, प्रतियोगितामा विभागीयसहित नेपालका छवटा ए डिभिजन क्लब, भुटान र बङ्गलादेशका एक/एक टिम तथा झापा ११ र आयोजकको भद्रपुर ब्लेजर्सको सहभागिता रहने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।
२०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिष्कृत हुने गरी हुन लागेको अध्यक्ष ढकालले बताए ।
झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रङ्गशालामा आयोजना हुने प्रतियोगिताअन्तर्गत पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी एफसीले जितेको थियो ।