'सामाजिक सञ्जाल सञ्चालन विधेयक'का केही प्रावधानप्रति पत्रकार महासंघको आपत्ति
नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन विधेयकप्रति आपत्ति जनाएको छ। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने प्रावधान समावेश गरेको भन्दै महासंघले गम्भीर असहमति जनाएको हो।
'सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने महासंघको भनाइ छ। उसले सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएरमात्र विधेयक अगाडि बढाउन आग्रह गरेको छ।