महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या २० पुग्यो, ५० भन्दा बढी घाइते
भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा मध्यराती भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या २० पुगेको छ। मृतकको संख्या अझै बढन सक्ने भारतीय सञ्चारमाध्याम दैनिक भाष्करले लेखेका छन् ।
गएराति साढे १ बजेतिर अचानक भागदौड मच्चिँदा अरु ५० जनाभन्दा धेरै मानिस घाइते भएको जनाएका छन्। यद्यपि १४ जनाको शव पोष्टमार्टमका लागि स्थानीय स्वरूपरानी अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। भागदौडका क्रममा केही महिलाहरु लडेको र उनीहरूलाई भिडले कुल्चिँदा मृत्यु भएको हो। घटनापछि आज औंशीका लागि १३ स्थानमा जारी अमृत स्नान रद्ध गरिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमृत स्नान रद्द गरिएको बताइएको छ।
मुख्यमन्त्री योगीले एक अपिल जारी गर्दै गंगाको नजिकै घाटमा स्नान गर्न र संगम क्षेत्रमा नजान आग्रह गरेका छन्। कुनै अफवाहको पछि नलाग्न र प्रशासनले गरेको अपिलमा ध्यान दिन पनि उनले भनेका छन्।
जनवरी १३ मा भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड मानिसले गंगामा डुबुल्की मारेको बताइएको छ। बुधबार औँसीका दिन १० करोड भन्दा बढी श्रद्धालु त्यहाँ पुग्ने अनुमान गरिएको थियो।