अमेरिकापछि युरोपमा पनि अवैध नेपालीमाथि धरपकड, स्पेनले गर्यो ५ नेपालीलाई निष्कासन
पछिल्लो समय अमेरिकामा मात्र होइन, विश्वभरिबाट निष्कासनमा पर्ने नेपालीहरूको सङ्ख्या बढेको छ। विभिन्न प्रलोभनमा परेर बिदेसिएका नेपालीहरू कानुन उल्लङ्घनको आरोपमा निष्कासनमा पर्ने गर्ने गरेका हुन्। त्यस्ता नेपालीहरू दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने गरेको अध्यागमन स्रोतले जानकार दिएको छ।
गत साता युरोपेली मुलुक स्पेनबाट चार जना नेपाली निष्कासनमा परेका हुन्। निष्कासनमा पर्नेमा अनिल बिसी, चिरञ्जीवी शाही, प्रेमराजा बोहोरा, बेलबहादुर कार्की र लोकेन्द्र केसी रहेका छन्। कतार एयरलाइन्सको जहाजबाट उनीहरूलाई नेपाल फर्काइएका हुन्।
अध्यागमन कानुन उल्लङ्घन गरेको आरोप उनीहरूलाई स्पेनले निष्कासन गरेको हो। उनीहरू चारै जनासँग पासपोर्टसमेत नरहेको बताइएको छ। पासपोर्ट फ्याँकेर लुकिछिपी बसोबास गर्दै आएका उनीहरूलाई स्पेनको अध्यागमनले निष्कास गरेको स्रोतको भनाइ छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गरेपछि अमेरिकामा रहेका नेपालीहरू पनि प्रभावित बनेका छन्। ट्रम्प प्रशासन लागू भएपछि केही दिनअघि मात्रै अमेरिकी अध्यागमनले लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको थियो। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै नेपाल पठाइएको थियो।
त्यस्तै हालै मलेसियाले १६ जना, टर्कीले ५ जना, दक्षिण कोरियाले पटक-पटक गरी ८ जना, जापानले ९ जना, माल्दिभ्सले ३ जना नेपालीलाई निष्कासन गरेको थियो। आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा बिदेसिएका नेपालीहरू त्यहाँको कानुनबारे जानकार नहुँदा निष्कासनमा पर्ने गरेको विज्ञहरूले बताएका छन्।