२०८३ असार ४ गते , विहीबार

डिकमान विरही पत्रकारिता पुरस्कार सुब्बालाई

sajilo news
झापा
२०८१ माघ १५ गते , मंगलबार
डिकमान विरही पत्रकारिता पुरस्कार सुब्बालाई

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई प्रदान गरिने भएको छ । अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकले जानकारी दिइन् ।

झापाको दमकलाई कर्मथलो बनाई विगत अढाई दशक लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा कार्यरत सुब्बालाई पुरस्कार छनोट समितिको सिफारिसमा निर्णय गरिएको अध्यक्ष फियाकले बताइन् ।

पूर्वअध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदस्यीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको हो । समितिको सिफारिसमा सुब्बालाई पुरस्कार प्रदान गर्ने निर्णय भएको अध्यक्ष फियाकले बताइन् ।उक्त पुरस्कारको राशि नगद २५ हजार रुपैयाँ रहेको छ ।त्यस्तै, फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तवा राई र हरप्रहर न्युज डटकममा कार्यरत सजन राईलाई प्रदान गर्ने निर्णय भएको फोनिजका जिल्ला सचिव तिलक योञ्जनले जानकारी दिए ।

फोनिज झापाको माघ १४ गतेको निर्णयले स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि समितिले छनोट गरेको नाम अनुमोदन र उदीयमान पत्रकारिता पुरस्कारका लागि २ जना प्रतिभा छनोट गरेको योञ्जनले बताए ।उदीयमान पत्रकारिता पुरस्कारको राशि ५/५ हजार रुपैयाँ रहेको छ ।  ३ वटै पुरस्कार २०८१ माघ १९ गते बिर्तामोडमा हुने फोनिज झापाको सातौँ जिल्ला अधिवेशनको अवसरमा प्रदान गरिनेछ ।

सम्बन्धित समाचार