२०८१ चैत्र १४ गते , विहीबार

कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड ‘ब्रेक थ्रु’

sajilo news
रासस
२०८१ माघ १४ गते , सोमबार
कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड ‘ब्रेक थ्रु’

जोगबनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ। सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने १५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको आज ‘ब्रेक थ्रु’ गरिएको हो। 

खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएसँगै आज सङ्घीय सरकारका ३ जना मन्त्रीको उपस्थितिमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो।

उक्त सडकको भोटखोला गाउँपालिका–१ च्याम्ताङमा सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो। 

उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाइनेछ।

यसअघि उक्त सडक ब्रेक थ्रु गर्न मन्त्री खड्काले निरन्तर पहल गर्दै आएका थिए। उनले गत पुस १२ गते रक्षामन्त्री राई र निर्माणमा संलग्न नेपाली सेनाको टोलीलाई भेटेर सडक चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा मन्त्री खड्काले खाँदबारी–किमाथाङ्का सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 

उनले  त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गरे। सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका थिए। 

किमाथाङ्का क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाइ थियो। 

रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुकको विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए। उनले समयअगावै सडकको ट्र्याक खोलेकोमा नेपाली सेनालाई धन्यवाद दिए। 

मन्त्री राईले पूर्वको किमाथाङ्का नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। बाँकी रहेको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न मन्त्री राईले सेनालाई निर्देशन दिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने बताए। उनले उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरे।

सम्बन्धित समाचार