२०८३ असार ५ गते , शुक्रबार

पूर्वमुख्यमन्त्री थापालाई कुटपिट गर्ने दुई जना धरौटीमा रिहा

sajilo news
झापा
२०८१ माघ १० गते , विहीबार
पूर्वमुख्यमन्त्री थापालाई कुटपिट गर्ने दुई जना धरौटीमा रिहा

पूर्व मुख्यमन्त्री तथा काँग्रेसको कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि मुक्का हान्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू धरौटीमा छुटेका छन् ।

अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले मुद्दा दायर गरेका उनीहरू जिल्ला प्रशासन कार्यालयको आदेशमा रिहा भएका हुन् । नेपाल विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारीहरू शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठसँग प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बयान लिएपछि सामान्य धरौटीमा छुटेका हुन् । उनीहरूलाई जनही ५–५ हजार रुपैयाँ धरौटी लिएर छोडिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए ।

अभद्र व्यवहार गरेको कसुरमा माघ ६ गते इलाका प्रहरी कार्यालय बिर्तामोडले ३ दिनको म्याद लिएर उनीहरूमाथि मुद्दा दायर गरेको थियो । पूर्वमुख्यमन्त्री तथा काँग्रेस नेता थापामाथि माघ ५ गते साँझ कुटपिट भएको थियो ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा साँझ करिब ७ बजे कनकाई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक थापामाथि उनीहरूले मुक्का हानेका थिए । बा १ झ ६५३ नं को गाडीमा घर फर्किँदै गरेका अर्जुनधारा ७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरण सुरुङ्गाका ती कर्मचारीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते भएका थिए । उनको देब्रे आँखा सुन्निएको थियो ।उनलाई उपचारका लागि बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको थियो । विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीले पूर्वमुख्यमन्त्री थापा चढेको गाडीलाई सुरुङ्गा पुलनजिक डाइभर्सनमा साइड नदिएको भन्दै विवाद भएको थियो ।

सम्बन्धित समाचार