२०८१ माघ २७ गते , आईतबार

बिर्तामोड महोत्सवमा ताप्लेजुङदेखि जुम्लासम्मको अर्ग्यानिक उत्पादन

sajilo news
झापा
२०८१ माघ ९ गते , बुधबार
बिर्तामोड महोत्सवमा ताप्लेजुङदेखि जुम्लासम्मको अर्ग्यानिक उत्पादन

झापा  । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अर्ग्यानिक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौ, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडीबुटीको चिया, जिम्मु र दाँते ओखर पनि उनको स्टलमा रहेको छ ।
पोखराकी सङ्गीता गुरुङले रुकुम र डोल्पाको सीमा क्षेत्रबाट भीर माहुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधीय गुण भएको मह र लेकाली भेडाको घ्यु उपलब्ध छ ।
ताप्लेजुङस्थित  फुङ्लिनकी माया गुरुङले अलैँचीको रेसाबाट निर्मित हस्तकलाका आकर्षक सामग्रीले स्टल सजाएकी छिन् । उनले यो सीप विकासका लागि परामर्श समेत प्रदान गर्ने बताइन् । आफू र आफू जस्तै महिलाहरूको आर्थिक क्षमता अभिवृद्धिका लागि विगत लामो समय यता गुरुङले यो व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।
अर्ग्यानिक कपुरधुप उत्पादन र प्रशिक्षण सञ्चालन गर्दै आएकी झापाकी खेमकुमारी ओली आफ्नो बस्तु र परामर्श सहित महोत्सवको स्टलमा पुगेकी छिन् ।
राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पाइने बस्तु र सेवाहरूको एकै थलोबाट अवलोकन र बिक्री वितरणका लागि सञ्चालन गरिएको यो महोत्सवमा पूर्वी नेपालमा उत्पादित चिया, अलैँची , मसला र जडीबुटीहरू पनि व्यवसायीहरूले सजाएका छन् ।
मेचीनगरमा रहेको एडभान्स मल्टी प्रोडक्सन कम्पनी प्रालिले अर्ग्यानिक सामग्रीको प्रयोगमा जोड दिँदै सुपारीका पातबाट बनाइएका घरायसी सामग्री बिक्री वितरणका लागि राखेको छ ।
यो महोत्सवले सिङ्गो नेपाल सहित भारत, बङ्गलादेश, पाकिस्तानका व्यवसायीलाई एकै थलोमा जोडेको छ । अघिल्ला महोत्सवमा जस्तै यस पटक पनि उपभोक्ताको उल्लेख्य उपस्थिति रहने व्यवसायीहरूले अपेक्षा गरेका छन् ।
झापाकै जिना बस्नेत १२ वटा फरक-फरक अचारका प्याकेजिङ लिएर स्टल पुगेकी छिन् । उनको स्टलमा हस्तकलाका माला , कुसन र गुडिया (डल) भेटिन्छन् । च्याउको सुकुटीपनि उनले राखेकी छिन् । सहारा सतासी महिला महुरी उद्योगले पनि आफ्नो उत्पादनलाई बिक्री स्टलमा राखेको छ । स्वरोजगार मूलक उद्योगका सञ्चालकलाई विशेष सहुलियतमा महोत्सवमा स्टल उपलब्ध गराइएको आयोजक बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार पाकिस्तानी लेदर, भारतीय किचन आइटम , बङ्गलादेशी गामेन्टका उत्पादन पनि महोत्सवमा राखिएका छन् ।
वाणिज्य संघ अन्तरगतकै महिला उद्यमी समूहले अर्ग्यानिक खाजाका रुपमा सेलरोटी र तरकारी सहुलियत दरमा उपलब्ध गराउँदै आएको समूहकी अध्यक्ष राधिका चुँडाल हुँमागाईले जनाएकी छिन् । महोत्सव स्थलमा अन्य विभिन्न होटलहरु समेत सञ्चालनमा रहेका छन् ।
अवलोकन कर्ता र बालबालिकाका लागि खेलकुदका सामग्री साथै प्रसिद्ध कलाकारहरूको साङ्गीतिक प्रस्तुति प्रत्येक दिन रहने महोत्सव संयोजक विशाल थापाले बताए ।

सम्बन्धित समाचार