२०८३ असार ५ गते , शुक्रबार

निर्माण व्यवसायी संघ झापाका नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

sajilo news
झापा
२०८१ माघ ८ गते , मंगलबार
निर्माण व्यवसायी संघ झापाका नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार

झापा । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले सोमबारदेखि कार्यभार सम्हालेको छ । संघको सभा हलमा आयोजित पद हस्तान्तरण समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार सम्हालेको हो । संघका अध्यक्ष मिलन बस्नेतले नवनिर्वाचित अध्यक्ष रमेश अधिकारीलाई पद हस्तान्तरण गरे । 

संघका अध्यक्ष बस्नेतकै अध्यक्षता तथा नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा निर्वाचन समितिका संयोजक गोपालबहादुर थापाले नवनिर्वाचित पदाधिकारी–सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेपछि नवनिर्वाचित अध्यक्ष अधिकारीले समारोहको अध्यक्षता गरेका थिए ।

समारोहमा नवनिर्वाचित अध्यक्ष अधिकारी, प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सह कोषाध्यक्ष सुरेन्द्र धिमाल तथा सदस्यहरू प्रवीण कटुवाल, विवेक जवेगु, गङ्गाप्रसाद गौतम, मनोजप्रसाद उप्रेती, दिनेश मैनाली, ज्ञानबहादुर तामाङ, डालिम खड्का, आशिष् वान्तवा, उद्धप कुँवर, भरत भट्टराई र महिला सदस्य कमला थाम्सुहाङलाई शपथ गराइएको थियो ।

महासचिव पुष्पराज निरौलाले सञ्चालन गरेको समारोहमा नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिबद्धता मन्तव्य राखेका थिए भने अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । प्रमुख अतिथि अधिकारी, निर्वाचन समितिका संयोजक थापा, संघका पूर्व अध्यक्ष गणेश बस्नेत र पूर्व महासचिव ओम पौडेलले नवनिर्वाचित कार्यसमितिको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा अध्यक्ष बस्नेतले आफ्नो कार्यकालका पदाधिकारी–सदस्यहरूलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, कर्मचारीको तर्फबाट कार्यालय सचिव ज्योति पौडेलले निवर्तमान अध्यक्ष बस्नेत र नवनिर्वाचित अध्यक्ष अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए । 

गत पुस २१ र २२ गते सम्पन्न १६ औं साधारण सभा तथा अधिवेशनले अधिकांश पदाधिकारी सर्वसम्मत चयन गरे पनि अध्यक्ष, सह कोषाध्यक्ष र सदस्यमा निर्वाचन भएको थियो । अध्यक्ष पदमा अधिकारीले इन्जिनियर प्रकाश सिंहलाई पराजित गरेका थिए भने तीन जनाले उम्मेदवारी दिएको सह कोषाध्यक्षमा सुरेन्द्र धिमाल विजयी भएका थिए । त्यस्तै, १० जना सदस्यका लागि १५ जनाबिच प्रतिस्पर्धा भएको थियो ।

सम्बन्धित समाचार