२०८३ असार ५ गते , शुक्रबार
गोठमा आगलागी हुँदा जलेर झापामा एक जना घाइते
झापाको शिवसताक्षीमा घुरबाट आगो सल्किँदा गोठ जलेर नष्ट भएको छ भने एक जना घाइते भएका छन् । गएराति ८ बजे शिवसताक्षी नगरपालिका-८ कल्याण चौक बस्ने ५० वर्षीय बाबुकाजी बस्नेतले आफ्नै गोठमा गाईलाई घुर तपाउनलाई आगो बाल्ने क्रममा अचानक आगो सल्किएको थियो । आगलागीबाट टिनको छानो भएको एक तले गोठ , गोठभित्र रहेको धान १५ मन जलेर नष्ट हुँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।
आगो निभाउने क्रममा बाबुकाजी बस्नेत अनुहारमा सामान्य जलेर घाइते भएका छन् । उनको लालीगुराँस मेडिकल झिलझिलेमा उपचार भइरहेको छ । उक्त आगो स्थानीय मानिस र दमकलको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको, जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।