२०८३ असार ५ गते , शुक्रबार

प्रेमिकाले धोका दिएको भन्दै झापाका एक पुरुषले आफ्नै शरीरमा लगाए आगो

sajilo news
झापा
२०८१ माघ ६ गते , आईतबार
प्रेमिकाले धोका दिएको भन्दै झापाका एक पुरुषले आफ्नै शरीरमा लगाए आगो

प्रेमिकाले धोका दिएको भन्दै झापा दमकका एक पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन्। घटना आइतबार बिहान ११ः४० बजेतिरको हो । शरीरमा पेट्रोल छर्किएर दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार ‘प्रेमिकाले धोका दिएको’ भन्दै थापाले आफ्नै पेट्रोल छर्किएर लाइटर बाली शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उर्लाबारी नगरपालिका–७ पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घरनजिकै थापाले शरीरमा आगो लगाएको जोशीले बताए । उक्त खाजा घर दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी थिइन् । ‘दमकबाट उर्लाबारी आएका पुरुषले शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोधपुछ गर्दा प्रेमिकाले धोका दिएकाले यस्तो गरेको भनेका छन् । थप कुरा बुझ्ने काम भइरहेको छ,’ डीएसपी जोशीले भने ।

आगोले जलेर थापा घाइते भएका छन् । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । कपाल, घाँटी, हातलगायत शरीरका विभिन्न भागमा आगोले पोलेको चोट रहेको प्रहरीले जनाएको छ । घाइते अवस्थाका थापाको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ ।थापाले शरीरमा आगो लगाएको जानकारी पाउनसाथ खटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले आगो निभाएर उद्धार गर्दै घाइतेलाई उपचारका लागि अस्पताल लगेको थियो । घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए ।

सम्बन्धित समाचार