तेली कल्याण समाज झापा गठन
झापाका तेली समुदायका व्यक्तिहरू संगठित भएका छन् । बिर्तामोडमा भएको तेली समुदायका अगुवाहरूको भेलाले तेली कल्याण समाज नेपालको झापा जिल्ला तदर्थ समिति गठन गरेको हो । झापाको दमक, कनकाई, गौरीगञ्ज, शिवसताक्षी, अर्जुनधारा, भद्रपुर, बाह्रदशीलगायतका स्थानबाट आएका तेली समुदायका अगुवाहरू उपस्थित रहेको कार्यक्रमको अध्यक्षता अर्जुनधाराका सत्यनारायण साहले गरेका थिए ।
समाजका मोरङ जिल्ला अध्यक्ष तथा केन्द्रीय संगठन विभागका सदस्य डा. बालकृष्ण साहको प्रमुख आतिथ्य तथा गौरादहका पूर्व मेयर रोहितकुमार साह, दमकका डा. सूर्यनारायण साहको विशिष्ट आतिथ्यमा भएको सो कार्यक्रममा बिर्तामोडका व्यापारी जनार्दन साहलगायत करिब ५० जना तेली समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिवप्रसाद साहले गरेका थिए ।
भेलामा उपस्थित मध्येहरुबाट सर्वसम्मतले दमकमा रहेको सौर्य अस्पतालका सञ्चालक डा. सञ्जय साहलाई अध्यक्षमा चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा बिर्तामोडका जनार्दन साह, सचिवमा चारपानेका शिवप्रसाद साह, सहसचिवमा कनकाई नगरपालिकाका राजकुमार साह र कोषाध्यक्षमा बिर्तामोडका लालबाबु साह चयन भएका छन् ।
१६ जना सदस्य गरी २१ सदस्यीय तदर्थ समितिसँगै सल्लाहकार समितिसमेत गठन गरिएको छ । सल्लाहकार समितिमा सत्यनारायण साह, रोहित साह, डा. सूर्यनारायण साह, डा. प्रमोद साह, डा. मुरलीप्रसाद साह, रमानन्द साह, कमल साहलगायत तेली समुदायका अग्रजहरू रहेका छन् । पछि अरू सल्लाहकारहरू थप्ने निर्णय भएको जनाइएको छ ।