२०८३ असार ५ गते , शुक्रबार

पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न काँग्रेसको माग

sajilo news
झापा
२०८१ माघ ६ गते , आईतबार
पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न काँग्रेसको माग

नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण गर्नेहरूलाई कारबाहीको माग गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पूर्व मुख्यमन्त्रीसमेत रहेका थापामाथि भएको आक्रमणको निन्दा र भर्त्सना गर्दै अराजक र आपराधिक कार्यमा संलग्नहरूलाई कारबाहीको माग गरेका हुन् ।

पूर्व मुख्यमन्त्री तथा काँग्रेस नेता थापामाथि हिजो साँझ कुटपिट भएको हो ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा साँझ करिब ७ बजे कनकाई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक उनीमाथि कुटपिट भएको हो । बा १ झ ६५३ नं को गाडीमा घर फर्किँदै गरेका अर्जुनधारा ७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते भएका छन् । उनको देब्रे आँखा सुन्निएको छ ।उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो ।

विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले सुरुङ्गा पुलनजिक डाइभर्सनमा ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ । कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको बिर्तामोड प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा गाडी चालक शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कर्मचारी कनकाई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित समाचार