२०८३ असार ५ गते , शुक्रबार

बिर्तामोड नगरपालिकाले हचुवाको भरमा सार्वजनिक गर्‍यो गरिबको सूची, चौतर्फी विरोध

sajilo news
झापा
२०८१ माघ ४ गते , शुक्रबार
बिर्तामोड नगरपालिकाले हचुवाको भरमा सार्वजनिक गर्‍यो गरिबको सूची, चौतर्फी विरोध

बिर्तामोड नगरपालिकाले हचुवाको भरमा संकलन गरेर सार्वजनिक गरेको गरिबको सूचीलाई नगरवासीहरूले अस्वीकार गरेका छन् ।बिर्तामोड नगरपालिकाभरि ८२५ जना मात्र गरिब भएको तथ्याङ्क बुधवार सार्वजनिक गरिएको थियो । दुई वर्षअघि बिर्तामोड नगरपालिकाले गरेको सर्वे अनुसार नगरभरि अति गरिब १८६,मध्यम गरिब ३१७ र सामान्य गरिब ३२२ जना गरी जम्मा ८२५ जना गरिब रहेको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।

गरिब निमुखाहरू सूचीमा नपरेको र घरजग्गा भएकाहरूलाई गरिब भनेर हचुवाको भरमा सूची बनाएर नगरपालिकाले प्रकाशित गरेपछि त्यसको चौतर्फी विरोध भएको हो । नगरवासीसँगै जनप्रतिनिधिहरूले समेत त्यसको तीव्र विरोध जनाएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ को दफा १३ बमोजिम जारी भएको गुनासो सुनुवाइ मार्गदर्शन २०७८ को दफा २ बमोजिम मन्त्रालयबाट प्राप्त गरिब परिवारको सूची बिर्तामोड नगरपालिकाले बुधवार सार्वजनिक गरेको हो । नगरपालिकाले २०७८ माघ ८ देखि २०७९ असार ७ गतेसम्म ५ महिना लगाएर नगरपालिकाको १० वटै वडामा सर्वे गरेको थियो । सर्वे गर्नका लागि १७ जना गणक खटिएका थिए । सर्वे गरिएको रिपोर्ट मन्त्रालयमा पठाइएको थियो । ती गणकहरूले मनोमानी किसिमले गरिएको विवरण संकलन गरेको पाइएको हो ।

नगरपालिकाले गरिब बनाएको हो कि नगर बासीहरू आफै गरिब भएका हुन् त्यो बुझ्न नसकिएको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । जनप्रतिनिधिहरुसंग समन्वय नगरी गणकहरूले विवरण संकलन गरेको र त्यसैलाई नगरपालिकाले मन्त्रालयमा पठाएर सार्वजनिक गरेकोमा बुढाथोकीले आपत्ति जनाए ।

गरिबको सूचीप्रति आक्रोशित हुँदै बिर्तामोड १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले गुनासो तथा उजुरी दर्ता गर्न आज आफ्नो वडा कार्यालयमा आएका नगरपालिकाका कर्मचारीहरूलाई फिर्ता पठाएका छन् । गुनासो तथा उजुरी दर्ता गर्न आफ्नो वडा कार्यालयमा फाराम लिएर आएका कर्मचारीहरूलाई काम गर्न नदिएको उनले जानकारी दिए ।‘ बिर्तामोड १ मा ५६ जना मात्र गरिब छन् र ? कसले गरिब भनेर चिनायो ? यसको मापदण्ड के हो ? ’ उनले भने,‘ मनोमानी ढङ्गले बनाएको गरिबको सूची मान्दैनौँ ।’ उनले त्यस सूचीलाई ठिक ढङ्गले पुनरावलोकन गर्नुपर्नेमा जोड दिए ।

गरिब परिवारको प्रारम्भिक सूचीउपर गुनासो तथा उजुरी दर्ता गराउनका लागि बिर्तामोड नगरपालिकाले १५ दिने सूचना जारी गरेको थियो । गरिब परिवारमा समावेश हुनुपर्ने नाम प्रारम्भिक सूचीमा नपरेको वा समावेश नहुनुपर्ने नाम सूचीमा समावेश भएको वा एक वर्गमा समावेश गर्नुपर्ने परिवार अर्को वर्गमा समावेश भएको पाइएमा त्यस्तो सूचीउपर १५ दिनभित्र बिर्तामोड नगरपालिकाबाट खटिएका गुनासो सुनुवाइ अधिकारीहरूसमक्ष गुनासो तथा उजुरी दर्ता गर्न सूचित गरिएको छ ।

सूचनामा नगरका वडा कार्यालयहरूमा गुनासो सुनुवाइ अधिकारी खटिने कार्य तालिका सार्वजनिक गरिएको छ । माघ ४ गते वडा नं १ , माघ ६ गते वडा नं २ , माघ ७ गते वडा नं ३ , माघ ८ गते वडा नं ४ , माघ ९ गते वडा नं ५ , माघ १० गते वडा नं ६ , माघ ११ गते वडा नं ७ ,माघ १३ गते वडा नं ८ , माघ १४ गते वडा नं ९ र माघ १५ गते वडा नं १० मा गुनासो सुनुवाइ अधिकारी खटिने बताइएको छ । बिर्तामोड नगरपालिकाको जनसङ्ख्या करिब १ लाख ४२ हजार रहेको छ । त्यसमध्ये करिब ५८ हजार मतदाता रहेका छन् ।

सम्बन्धित समाचार