२०८३ बैशाख २३ गते , बुधबार

झापामा २२२ ग्राम ब्राउनसुगर बरामद, आठ जना समातिए

sajilo news
झापा
२०८१ माघ ३ गते , विहीबार
झापामा २२२ ग्राम ब्राउनसुगर बरामद, आठ जना समातिए

झापामा लागू औषध र प्रतिबन्धित औषधीसहित आठ जना पक्राउ परेका छन् । लागू औषधसहित सात जना र  औषधसहित एक जना पक्राउ परेका हुन् ।

गएराति काँकडभिट्टास्थित मेची पुलमा अर्जुनधारा- ८ शनिश्चरे बस्ने ३५ वर्षीय अर्जुन श्रेष्ठ र भारत पश्चिम बङ्गाल दार्जिलिङ थाना दुलालजोत बस्ने ३० वर्षीय एमडी भनिने मोहम्मद अनवर हुसेनलाई शङ्कास्पद अवस्थामा फेला पारी उनीहरूको शरीर तलासी लिने क्रममा हुसेनको साथबाट प्लास्टिकसहित ७ ग्राम १९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भद्रपुर- ३ नयाँ बस्ती बस्ने ४५ वर्षीया सविता भनिने दोमासी राजवंशीले भारतको पानीट्याङकीमा भेटेर काठमाडौँ पठाउनको लागि लागू औषध दिएको खुल्न आएको थियो ।

त्यसपश्चात् प्रहरी टोलीले राजवंशीको घरमा गई खानतलासी गर्ने क्रममा घरभित्र रहेको टेबलमाथि प्लास्टिकसहित २१२ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । तीन जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो साँझ ६ः३० बजे बिर्तामोड नगरपालिका-५ बस्ने प्रकाश राजवंशीको घरमा लागू औषध बेचबिखन भइरहेको अवस्थामा चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिर्तामोड- ५ बस्ने २५ वर्षीय प्रकाश राजवंशी, सोही ठाउँ बस्ने ३२ वर्षीय रतन राजवंशी, वडा नं १ बस्ने २१ वर्षीय करण धिमाल र इलाम एक तप्पा ७ घर भई हाल बिर्तामोड- ५ बस्ने २१ वर्षीय आशिष् लिम्बू रहेका छन् ।

उनीहरूको साथबाट प्लास्टिकसहित ३ ग्राम ९८० मिलिग्राम ब्राउन सुगर फेला परेको र नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै प्रतिबन्धित औषधीसहित दमकमा एक जना पक्राउ परेका छन् । हिजो दिउँसो ४ बजे दमक नगरपालिका वडा नं. ६ स्थित सडक खण्डमा दमक २ बस्ने २३ वर्षीय सुसन बन्जरा प्रतिबन्धित औषधीसहित पक्राउ परेका हुन् ।

उनको साथबाट ट्रामोल–५० लेखिएको २०० क्याप्सुल र स्पास्पेन २०० ट्याब्लेट फेला परेको छ । प्रतिबन्धित औषधीसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

सम्बन्धित समाचार