२०८१ माघ २७ गते , आईतबार

न्यायाधीश सवार कार दुर्घटना, दुई जना घाइते

sajilo news
सुनसरी
२०८१ माघ १ गते , मंगलबार
न्यायाधीश सवार कार दुर्घटना, दुई जना घाइते

सुनसरीको बराहक्षेत्रमा न्यायाधीश सवार कार दुर्घटनामा परेको छ। दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत वराहक्षेत्र नगरपालिका–३ नडाह जङ्गलमा आज साँझ ५ः१० बजेतिर सरकारी कार दुर्घटनामा परेको हो। काठमाडौँबाट विराटनगरतर्फ आउँदै गरेको बी एबी ७१४६ नम्बरको कार दुर्घटना हुँदा विराटनगर महानगरपालिका–४ घर भएका न्यायाधीश ५४ वर्षीय नारायणप्रसाद रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएको प्रहरीले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार खनाल न्यायाधीश रेग्मीका भिनाजु हुन्। दुर्घटनामा परेर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। रेग्मीको अवस्था मध्यम र खनालको गम्भीर रहेको जानकारी अस्पतालले दिएको छ। कारमा न्यायाधीश रेग्मी, उनका भिनाजु, छोरा र छोरी तथा चालकसहित ५ जना सवार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

कारमा सवार न्यायाधीश रेग्मीका छोरा २७ वर्षीय निश्चल रेग्मी र छोरी २० वर्षीया भूमिका रेग्मी एवं चालक भक्तपुर नगरपालिका–५ घर भएका ५४ वर्षीय कृष्णमान खोटेजा सकुशल छन्। चालक खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित समाचार