२०८१ माघ २७ गते , आईतबार

झापाको कनकाई-माई धार्मिक मेला बन्यो जुवाको अखडा

sajilo news
झापा
२०८१ माघ १ गते , मंगलबार
झापाको कनकाई-माई धार्मिक मेला बन्यो जुवाको अखडा

माघे सङ्क्रान्तिको अवसरमा लागेको कनकाई माई धार्मिक मेला जुवाको अखडा बनेको छ । कनकाई नदी पूर्व कोटीहोम र पश्चिमपट्टि माइधारमा तीन दिन अघिदेखि लागेको माई मेलामा जुवा र जुवाजन्य खेल खेलाउने गरिएको हो । जुवा र जुवाजन्य खेल खेलाउनकै लागि मेला लगाउने आयोजक समितिको उद्देश्य देखिएको छ । मेलामा जुवा तास, डाइस, सिक्सरलगायतका अवैध खेल खेलाउने गरेको पाइएको हो ।

खुलेआम रुपमा जुवा खेलाउने गरेपछि प्रहरीले गएराति जुवाको अखडामा छापा मारेको थियो । राति जुवा र जुवाजन्य खेलहरू बन्द गराइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी निशान थापा मगरले बताए । उनले मेलाको नाममा अवैध खेल खेलाउन नमिल्ने भन्दै त्यस्ता खेल नखेल्न भनिएको जानकारी दिए ।

शिवसताक्षी– १० माइधारमा त्यहाँका वडाध्यक्ष हर्कबहादुर सिगुकै अगुवाइमा वडा कार्यालयले मेला आयोजना गरेको हो । वडाध्यक्ष सिगु नै जुवा खेलाउन पाउनु पर्छ भन्ने पक्षमा रहेको बताइएको छ । जुवाबिना मेला नलाग्ने र मेलामा आम्दानी पनि नहुने आयोजक समितिको तर्क छ । प्रायः सबै जनाको भनाई जुवाजन्य खेल खेलाउन पाउनु पर्छ भन्ने रहेको एक प्रहरी अधिकृतले बताए ।

राति नै कन्काईपूर्व कोटीहोममा लागेको मेलामा पनि प्रहरीले जुवाजन्य खेल बन्द गराएको छ । राति १ बजेसम्म खटिएर त्यहाँका जुवाजन्य खेल बन्द गराइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । कोटीहोममा कनकाई धार्मिक माई मेला समितिले मेला लगाएको हो । जुवा र जुवाजन्य खेल खेलाउनका लागि कनकाईमा ७ दिने मेला लगाइएको हो ।

जुवा खेल्न दिनु पर्‍यो भनेर उपल्लो निकायबाट फोन गर्न लगाएको नाम उल्लेख नगर्ने सर्तमा ती प्रहरी अधिकृतले भने । मेला भनेको जुवा र जुवाजन्य खेल खेलाउने ठाउँ भन्ने मानसिकता भेटिएको उनको भनाई छ । गत पुस २७ गते शनिवार उद्घाटन गरिएको मेला माघ ३ गतेसम्म लाग्नेछ ।यस किसिमका विकृतिका कारण मकर स्नान गर्न आउने कनकाई धार्मिक मेलाको महत्त्व घट्दै गएको छ ।

सम्बन्धित समाचार