झापामा कनकाई माई मेलाको उद्घाटन

पूर्वको प्रसिद्ध कनकाई माइमेलाको आज विधिवत् उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइमेलाको शान्तिको रिबन काटेर उद्घाटन गरिएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा शान्तिका दूत परेवा उडाइएको थियो भने, केक पनि काटिएको थियो ।
उद्घाटनका क्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले वर्षैदेखि लाग्दै आएको माइमेला कोरोना सङ्क्रमणका बेला रोकिए पनि पछिल्लो समय लाग्दै आएको जानकारी दिए । आफू सानो हुँदा मेला ठुलो लाग्ने गरेको सम्झँदै उनले नगरपालिकाले यस वर्षदेखि आफै मेला सञ्चालन गरेर धेरै व्यापारीहरू भित्र्याउने गरी काम गरेको बताए ।
यस वर्षदेखि पर्यटकीय क्षेत्र दोमुखामा पनि सधैँ वर्षहरू भन्दा धेरै मात्रामा पर्यटकहरू आउन थालेका छन् । उनले भने, अब नगरपालिकाले आयोजना गर्ने हरेक पर्यटकीय क्षेत्र र मेलाहरूमा व्यापारीहरू सहजता दिँदै धेरै मात्रामा पर्यटक भित्रिने गरी काम गर्दै जाने छौ ।
यसले शिवसताक्षी नगरको विकास र आय श्रोतमा टेवा पुग्ने अपेक्षा गरिएको छ । हामीसँग त्रिधाम छन् । सताक्षीधाम, दोमुखा, चिल्लागढ र यो मेला लाग्ने स्थान माइधाम यसलाई पनि विकास गरी पर्यटक भित्र्याउन सकिन्छ ।
उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष हर्क सिगुले मेलामा आउने मानिसहरूले सडकमा भिडभाड हुने भएकाले सडक पेटीमा खाली गरेको बताए । यस वर्ष मेलामा सडकको किनारमा कसैले पनि पसल राख्ने छैन । सडकमा पसल राख्ने व्यापारीहरूलाई मेला स्थलमै व्यवस्थापन गरिएको छ ।
अध्यक्ष सिगुले विगत वर्षहरूमा स्वयंसेवकको रुपमा खटिने भाइहरूले पिङ, सर्कस लगायत खेलाहरूमा फ्रीमा खेल्ने गरेर व्यापारीहरूलाई मार्का परेकाले यस वर्ष कुनै पनि स्वयंसेवक नराखिएको बताए । वडाले अनुगमन समिति गठन गरेको त्यस समितिले कडा अनुगमन गर्छ । वडा नम्बर १० नागरिक सबै स्वयंसेवक हुन् । मेलामा खाने पानी, बिजुली, शौचालय, रेडक्रस, एम्बुलेन्सको व्यवस्था गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। प्राथमिक उपचारका लागि स्वास्थ्य टोलीले मेला अवधिभर निःशुल्क सेवा दिने व्यवस्था मिलाइएको वडाध्यक्ष सिगुको भनाई छ ।
उद्घाटन कार्यक्रममा पश्चात् जनप्रतिनिधि तथा कर्मचारीहरूले एक पटकका लागि उद्घाटनमा आएका मानिसहरूलाई फ्रीमा खेलाइएको थियो । कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफेलगायतले मेला सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य दीपक पोख्रेलले गरेका थिए ।