२०८१ माघ २७ गते , आईतबार

पूर्वी चितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा

sajilo news
रासस
२०८१ पौष २८ गते , आईतबार
पूर्वी चितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा

भरतपुर ।  पूर्वी चितवनको सिमसार क्षेत्रमा यो वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो।

गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यो पटक भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु विडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपालि पनि भेटिएको उनले बताए। गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए। 

यो वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुङ्गरे खोला, पटना ताललगायत पूर्वीचितवनको सिमसारमा गरिएको थियो। बिडारीले दुई दिन भएको गणनामा सात हजार एक सय ५० चरा समावेश भएको जानकारी दिए। तीमध्ये चार हजार १०७ चखेवाचखेवी रहेको उनले बताए।
 
अघिल्लो वर्ष सात हजार पाँच सय १७ चरा समावेश भएका थिए। अघिल्लो वर्षभन्दा चखेवाचखेवीको सङ्ख्या घटेको हो। अघिल्लो वर्ष चार हजार तीन सय चार भेटिएको उनले बताए। सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन्। यस्तै लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहाघाटसम्म २५, बीस हजार तालमा ३०, बुढीराप्तीमा २६, ढुङ्गरे खोलामा २४, मत्यविकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उनले बताए। 

सात हजार १५० चरा समावेश हुँदा पानीहाँस मात्र चार हजार १०७ वटा समावेश भएको उनले बताए। जलकौवा सानु ११७ र ठूलो ४६० वटा गणनामा समावेश भएका छन्। बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्षसमेत रहेका विडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको बताए। ‘जलेवा चरा बढेका छन्। चखेवाको सङ्ख्या उस्तैउस्तै छ’, उनले भने।
 
प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाइ छ। सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ। नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ। सोसाइटीले हाल जाडो यामका पानीचरा गणना गरेको हो।

चितवनमा ६५२ प्रजाति चरा पाइने बताइन्छ। त्यसमध्ये यो वर्ष जिल्लामा १५९ प्रजाति भेटिए। पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको विडारीले बताए। 

सम्बन्धित समाचार