नवौं मोडल हन्ट नेपालको फाइनलमा ४८ प्रतियोगी

नवौँ सिजनको ‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलका लागि ४८ प्रतियोगी चयन भएका छन् । विभिन्न चरणमा गरिएको अडिसनबाट मोडल हन्ट नेपालका लागि ४८ प्रतियोगी चयन भएको आयोजक पक्षले जनाएको छ । मोडल हन्ट नेपाल नियमित रुपमा आयोजना हुँदै आएको मोडलहरूको प्रतिस्पर्धा मूलक प्रतियोगिता भएको पनि आयोजक पक्षले बतायो ।
अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका ४८ प्रतियोगी मध्य ३० जना महिला र १८ पुरुष रहेको छन् । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार प्रतियोगी चयनसँगै यो प्रतियोगिताको लागि प्रशिक्षण पनि सुरु गरिएको छ । प्रतियोगितामा कोरियोग्राफर सबिता कार्कीले कोरियोग्राफी गर्दैछिन् ।
‘अडिसनबाट छानिएका प्रतियोगी अब एक महिनाको प्रशिक्षण सहित फाइनलको तयारीमा जुट्ने छन् । प्रशिक्षणको क्रममा उनीहरूलाई व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्यांग्वेज, फोटो सुटलगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ’, आयोजक यतना पाण्डेले बताइन् ।
आयोजक पाण्डेका अनुसार यो प्रतियोगितामा विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कारसँगै आगामी सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने अवसर प्राप्त गर्ने छन् ।
आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले नेपालमा मोडलिङ पेसाको विकास र विस्तारका लागि नयाँ एवम् प्रभावशाली मोडल जन्माउन आफूहरूले नौ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको बताए । प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण बढेको पनि उनले जिकिर गरे । प्रतियोगीताले मोडलिङ गर्न चाहनेकालागि उचित अवसर र प्लेटफर्मको सृजना गर्दै आएको अध्यक्ष धमलाको विश्वास रहको छ ।