२०८३ असार ५ गते , शुक्रबार

निर्माणाधीन बिर्तामोड-भद्रपुर सडक बारेमा सभामुख घिमिरेको चासो

sajilo news
झापा
२०८१ पौष २६ गते , शुक्रबार
निर्माणाधीन बिर्तामोड-भद्रपुर सडक बारेमा सभामुख घिमिरेको चासो

बिर्तामोड । सभामुख देवराज घिमिरेले सडक अवरोध गरेर आन्दोलन गर्दा मात्रै अपेक्षाकृत परिणाम ननिस्किने बताएका छन् । बिर्तामोड–भद्रपुर सडक खण्ड वरपरका बासिन्दाले सडक अवरुद्ध पारेर गरेको आन्दोलनप्रति लक्षित गर्दै सभामुख घिमिरेले यस्तो टिप्पणी गरेका हुन् ।

सहिद नेत्र पार्कमा आज साँझ सरोकारवालासँग छलफल गर्दै सभामुख घिमिरेले आन्दोलन गर्दा जनताले मात्रै दुःख पाउने बताए ।  ‘ठेकेदारले भुक्तानी नपाएका कारण सडक निर्माणले गति लिन नसकेको विषयमा मलाई पूर्ण जानकारी छ’, सभामुख घिमिरेले भने, ‘ढिलो छिटो भुक्तानी हुन्छ, काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’ सरकारी ढुकुटीमा पर्याप्त पैसा हुञ्जेल ठेकेदारले काम नगरेको जनाउँदै सभामुख घिमिरेले फेरि म्याद थप्ने बेला भएको बताए ।

बिर्तामोड भद्रपुर सडक खण्ड निर्माण गरिरहेको ठेकेदार कम्पनीले पहिलेको एक करोड २० लाख र अहिलेको ४ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । भुक्तानी नपाएको भन्दै सडक निर्माणको काम अघि नबढाएपछि स्थानीय क्षेत्रका बासिन्दा नियमित धुलोका कारण आजित बनेका छन् ।

पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सरोकारवालाले चासो नदिएको जनाउँदै उनीहरूले तीन दिन अघि सडक अवरुद्ध गरेका थिए ।वडाध्यक्ष अविरल कृष्ण खरेलले सभामुखमार्फत निर्माणाधीन सडकका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । स्थानीयको तर्फबाट खरेलले बजेटको व्यवस्थापन मिलाइदिन सभामुखलाई आग्रह पनि गरे ।

छलफलमा सभामुख घिमिरेले सौर्य ऊर्जामा आधारित विद्युतीय तारबारको संरक्षण गर्न सके हात्ती नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै यसलाई विस्तार गर्ने सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

वडाध्यक्ष खरेलले नेत्र पार्कको विकासका लागि कतैबाट बजेट उपलब्ध नभएको जनाउँदै सभामुखको ध्यानाकर्षण गराए । नेत्रपार्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने स्थानीयको योजना सुनाउँदै वडाध्यक्ष खरेलले प्रवेशद्वारमा रहेको काठे पुल विस्थापित गरी नयाँ पुल बनाउने वातावरण मिलाउन समेत आग्रह गरिएको बताए ।

 

सम्बन्धित समाचार