चन्द्रगढी खानेपानीको बचत २९ लाख १६ हजार
भद्रपुर । भद्रपुर–१० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको बचत २९ लाख १६ हजार ४ सय ६० पैसा रहेको जनाएको छ । समितिको शुक्रबार सम्पन्न २२ औं वार्षिक साधारण सभामा समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा रकम सार्वजनिक गरिएको हो ।
अध्यक्ष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा सहयोग तथा अनुदानसहित २ करोड ११ लाख ८२ हजार २ सय ८७ रुपैयाँ १ पैसा आम्दानी र १ करोड ८२ लाख ६५ हजार ८ सय ८६ रुपैयाँ ४१ पैसा खर्च भई २९ लाख १६ हजार ४ सय ६० पैसा बचत रहेको जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्ष २०८१।८२ का लागि २ करोड ७६ लाख ४९ हजार २ सय २१ रुपैयाँ ६० पैसा आम्दानी र २ करोड ६३ लाख ३० हजार खर्च गरी १३ लाख १९ हजार २ सय २१ रुपैयाँ ६० पैसा बचत गर्ने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्यक्ष अधिकारीको सभापतित्व तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।समितिका उपाध्यक्ष बाबुराम पराजुलीले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा जुनीयर प्राविधिक नारायणप्रसाद निरौलालाई ११ हजार १ सय ११ नगदसहित सम्मान गरिएको थियो ।
समितिका सचिव बाबुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, खानेपानी डिभिजन प्रमुख झापाका विकास काफ्लेले मन्तव्य राखेका थिए ।बन्द सत्रमा समितिका कोषाध्यक्ष खेमराज भट्टराई ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन बहुमतले पारित गरेको जनाइएको छ ।