अधिवक्ता पराजुलीले अस्ट्रेलियाबाट गरे उच्च अदालत इलाममा प्रतिरक्षा बहस
उच्च अदालत विराटनगर इलाम इजलासले प्रविधिको प्रयोग गर्दै अन्तर्राष्ट्रिय स्तरबाट कानुन व्यवसायीको प्रतिनिधित्व गरी बुधवार अनलाइन बहस गरेका छन् । झापा जिल्ला अदालतबाट २०८० साउन ३२ गते फैसला भएको चोरी मुद्दाका प्रतिवादीले चित्त नबुझाएर पुनरावेदन गरिएको मुद्दाको प्रतिवादीका कानुन व्यवसायी अधिवक्ता चूडामणि पराजुलीले अस्ट्रेलियाको सिडनीवाट आफ्नो पक्षको प्रतिरक्षा बहस गरेका हुन् ।
कानुन व्यवसायी पराजुलीले उच्च अदालत इलाममा परेको निवेदक नुरत आलमको मुद्दामा प्रतिरक्षाका निमित्त अदालतमा सम्पर्क गरेर सिड्नीबाटै अनलाइन माध्यमबाट बुधवार पेशी रहेको चोरी मुद्दामा प्रतिरक्षा गरेका थिए । अधिवक्ता पराजुली झापा घर भई हाल सिड्नीमा रहेका छन् । अनलाइन प्रणालीको बहस ऐच्छिक हो।
कानुन व्यवसायीले चाहेमा अदालतले उक्त सुविधा दिन सक्नेछ। एक पक्ष कानुन व्यवसायी अदालत नै आएर बहस गर्ने र अर्को पक्षले अनलाइनबाटै गर्न चाहेको अवस्थामा पनि अदालतले सोही अनुसारको व्यवस्था गरेको छ।
न्यायाधीश रेखा थापा पाण्डे र माननीय न्यायाधीश काजी बहादुर राईको संयुक्त इजलासबाट बुधवार चोरी मुद्दामा कानुन व्यवसायी पराजुलीले अनलाइन प्रविधिबाट बहस गरेका हुन् । उच्च अदालत इलामले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा उच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको उच्च अदालत विराटनगर इलाम इजलासका रजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए ।
कानुन व्यवसायीले प्रविधिको प्रयोग गर्दै बहस गर्न पाउनुपर्ने पक्षमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका नेपाल वार एसोसिएसन झापाका पूर्व अध्यक्ष अशोक पोख्रेलले प्रविधिको प्रयोगबाट झापाका कानुन व्यवसायीले अस्ट्रेलियाबाट इलाममा बहस गरिएको नेपालमा नै सम्भवतः पहिलो रहेको दाबी गरे । प्रविधिको प्रयोग सँगै नेपालका अदालत उच्च प्रविधिको प्रयोग भएको महसुस गरिएको छ। प्रविधिको प्रयोगले कानुन व्यवसायी जहाँ रहेपनि प्रतिवादीले रोजेको कानुन व्यवसायीलाई रोजेर प्रतिरक्षा गर्न सक्ने अवस्था भएका बताइएको छ।