भोलिदेखि काँग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान

नेपाली काँग्रेस कोशी प्रदेश समितिको आयोजनामा भोलिदेखि कचनकवल–सगरमाथा जागरण अभियान शुरु हुँदैछ । नेपालको सबैभन्दा होचो भूभाग कचनकवल स्तम्भमा सो अभियान शुरु हुन लागेको हो । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला ,काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरूले अभियान शुभारम्भ गर्ने भएका छन् । अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने पार्टीका झापा क्षेत्र नम्बर ३ का सचिव गीताप्रसाद भट्टराईले जानकारी दिए । अभियानमा धेरै नेता कार्यकर्ताको उपस्थिति रहने जनाइएको छ ।
सो अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन गरिने नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए । उनले सङ्गठन सुदृढीकरण,ऐतिहासिक खोज,सम्वृद्धिको आधार , जलवायु परिवर्तन प्रभाव र पहिचानको उद्देश्य राखेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । अभियानले नेपालको होचो भूभाग कचनकवलको समग्र विकासलाई समेत अगाडि पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको छ।
अभियान सात महिनासम्म चल्ने छ । ‘कोशी प्रदेशका १४ वटै जिल्लामा अभियानअन्तर्गत कार्यक्रम हुने छन्’ सभापति थापाले भने,‘कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षहरूको महत्वलाई अभियानका क्रममा उजागर गरिनेछ, समग्र प्रदेशको विकास, एकता र समृद्धिको सन्देशलाई अझ बलियो बनाउने हाम्रो अपेक्षा हो ।’ सङ्गठन सुदृढीकरण, पार्टीमा गुट–उपगुटको अन्त्य, भ्रातृत्वको सहअस्तित्व स्थापित गर्दै पार्टीलाई थप मजबुत र चलायमान बनाउन अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने सभापति थापाको विश्वास छ ।
अभियानका लागि कचनकवल स्तम्भमा तयारी भइरहेको छ । समुन्द्र सतहदेखि ५८ मिटर उचाइमा नेपालकै होचो भूभागमा कचनकवल स्तम्भ रहेको छ । अभियान शुभारम्भका अवसरमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ ।