पोस्टमार्टमको गलत रिपोर्ट दिन खोज्ने प्रादेशिक अस्पताल भद्रपुरका डाक्टरलाई कारबाही गरिने, आफन्तले बुझे शव

भद्रपुर । पोस्टमार्टमको गलत रिपोर्ट दिन खोज्ने प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल अफिसर डा. केवल कपुरीलाई कारबाही गरिने बताइएको छ । अस्पताल प्रशासनले डा। कपुरीलाई तप्न दिनभित्र कारबाही गरिने आवश्यक दिएपछि पीडित परिवारले सोमबार शव बुझेर लगिसकेका छन् ।
बिर्तामोड नगरपालिका–८ स्थित सुकुम्वासी टोल जाने भित्री सडक खण्डमा बा ७५ प ९११५ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार साँझ साढे ६ बजे सोही ठाउँका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए । दुर्घटनापश्चात् दुवै पक्षको सहमतिमा सामान्य उपचारपछि घाइते श्रेष्ठ घर फर्किएका थिए । आइतबार बिहान आफ्नै घरको कोठामा सुतिरहेको अवस्था उनी मृत फेला परेका थिए ।
त्यसपछि प्रहरीको समन्वयमा परिवारजनले उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । प्रादेशिक अस्पतालका मेडिकल अफिसर डा. केवलले मृतकको पोस्टमार्टम गरेका थिए । डा. कपुरीले गरेको पोस्टमार्टममा उनको मृत्यु दुर्घटनाबाट नभई निमोनियाबाट भएको रिपोर्ट दिन खोजेपछि आफन्त तथा परिवारजन आक्रोशित भएका थिए ।
त्यसपछि उनीहरूले शव बुझ्नै मानेनन् । आफन्त र परिवारजन आन्दोलित भएपछि काठमाडौँमा रहेका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले शवको पुनः पोस्टमार्टमका लागि मेडिकल अफिसर डा. मनोज साहलाई अराएका थिए । सोमबार बिहान अस्पताल प्रशासनले दुर्घटनाबाटै मृत्यु भएको पोस्टमार्टम दिएका थिए । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खडकाले गलत रिपोर्ट दिन खोज्ने डा.कपुरीलाई कारबाही गर्ने आश्वासन दिएको बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्कीले जानकारी दिए ।
पोस्टमार्टम रिपोर्ट सच्याएपछि मात्र परिवारले शव बुझेर लगेको उनको भनाई छ । यता दुर्घटना गराउने मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड–८ बस्ने २५ वर्षीय बुद्ध बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।