२०८१ फाल्गुन ४ गते , आईतबार

प्रहरी हिरासतमा एकदिन पनि नबसेका बलात्कार आरोपी बिर्तामोडका पूर्वमेयर शिवाकोटी कारागार चलानको आदेशपछि पनि अस्पतालमै

sajilo news
झापा
२०८१ पौष २३ गते , मंगलबार
प्रहरी हिरासतमा एकदिन पनि नबसेका बलात्कार आरोपी बिर्तामोडका पूर्वमेयर शिवाकोटी कारागार चलानको आदेशपछि पनि अस्पतालमै

झापा । बालिकालाई बलात्कार गरेको आरोपमा समातिएका बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटी अस्पतालमै बसिरहेका छन् । 

नेकपा एमालेका झापा जिल्ला सदस्यसमेत रहेका शिवाकोटीलाई झापा जिल्ला अदालत भद्रपुरले सोमबार पुर्पक्षका लागि झापा कारागार चलान गर्ने आदेश सुनाए ।  तर, पूर्वनगर प्रमुख शिवाकोटी पार्टी र सत्ताको आडमा प्रहरी हिरासतमा त बस्दै बसेनन्, अहिले कारागारमा समेत नबसी बीएण्डसी अस्पताल बिर्तामोडको बेडमा बसिरहेका छन् । 

आफ्नै घरमा घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिवाकोटी गत मंसिर २४ गते पक्राउ परे । पक्राउ परेको दिनदेखि नै उनी बीएण्डसी अस्पताल भर्ना भए ।  प्रहरीले अदालतसँग पाँच पटक म्याद थपेर २५ दिनसम्म अनुसन्धान गर्दा उनले एकदिन पनि हिरासतमा बस्नु परेन । 

बीएण्डसी अस्पतालबाटै उनलाई अदालत लगिन्थ्यो र अदालतबाट सिधै अस्पताल भर्ना गरिन्थ्यो । प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई मुद्दा जिम्मा लगाउँदा, सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गराउँदा र अदालतले बयान लिइसक्दा पनि उनले हिरासतमा बस्नु परेन ।

यहाँसम्म कि जिल्ला अदालत, झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले सोमबार शिवाकोटीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिँदासमेत उनले कारागार बस्नु परेको छैन । अदालतको पत्र बमोजिम केही मेडिकल चेकजाँच गर्नुपर्ने भनिएकाले अस्पतालमा भर्ना गरिएको झापा कारागारका प्रमुख रेवन्त भट्टराईले जानकारी गराए । चिकित्सकको सल्लाह अनुसार के कति दिन राख्नुपर्ने हो सोही अनुसार अस्पतालमा राखिने उनको भनाई छ ।  

‘बाँच्न पाउने अधिकारको हामी सबैले सम्मान गर्नु पर्छ’ उनले भने,‘ सँधैको लागि अस्पतालमा राख्न मिल्दैन चिकित्सकको सल्लाह अनुसार अस्पतालमा उपचार गर्न दिन्छौँ ।’ शिवाकोटीले आफ्नो ढाडको समस्या भएको बताएका छन् ।

स्रोतका अनुसार अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश सुनाएपछि शिवाकोटी कारागारसम्म पुगे । त्यहाँ उनले कारागार प्रमुख भट्टराईलाई पत्र बुझाएर आफ्नो प्रक्रिया पूरा गरेर सोजै अस्पतालतर्फ लागे । शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार कारागार प्रशासनलाई पत्र पठाइएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए । 

बुबाआमा नभएका पीडित बालिकालाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रुपमा राखेका थिए । घरमा रहेका बेला शिवाकोटीले पटक पटक करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय, अनारमनिले उनलाई पक्राउ गरेको थियो । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार