२०८३ असार ५ गते , शुक्रबार
कचनकवलमा हात्तीको उपद्रो : महिलाको ज्यान लिएको भोलिपल्ट घर भत्कायो
झापा । दक्षिणी झापाको कचनकवलमा जंगली हात्तीले एक महिलाको ज्यान लिएको भोलिपल्ट घर भत्काएको छ । गएराति साढे १२ बजे कचनकवल- १ फिटिङ्ग गाउँमा ६ वटा जंगली हात्ती प्रवेश गरी रामप्रसाद किस्कू (जलथलिया बा) को घर भत्काएको हो । हात्तीले घर पूर्णरुपमा भत्काउनुका साथै घरमा रहेको धान चामल सबै नष्ट गरेको छ। घरका मानिसहरूले भागेर ज्यान जोगाएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।
बुधवार दिउँसो हात्तीको आक्रमणबाट कचनकवलकी ३५ वर्षीया केलाबत्ती राजवंशी ज्यान गएको थियो । दाउरा खोज्न कचनकवल गाउँपालिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी सोही ठाउँकी राजवंशीलाई जंगली हात्तीले लखेटी लखेटी मारेको थियो । चारकोशे झाडीमा रहेका हात्तीले कचनकवलमा लगातार उपद्रो गर्दै आएको छ ।