एमाले झापाले कृषि क्षेत्रको विकासमा खाका बनाएर काम गर्ने
बिर्तामोड । नेकपा एमाले झापाको स्थानीय विकास विभाग कृषि क्षेत्रको समस्या र सम्भावनाको खोजी गर्न विज्ञसहित छलफल गरेको छ । कृषि क्षेत्रको विकासका लागि छलफल तथा अन्तरक्रिया गरेको हो । जिल्लाका जनप्रतिनिधिहरू, किसान र पार्टीका नेताहरुबीच कृषि क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने बारे छलफल तथा अन्तरक्रिया गरिएको विभागका संयोजक शिव ढुङ्गेलले जानकारी दिए ।
अन्तरक्रियामा अखिल नेपाल किसान महासंघ झापाका अध्यक्ष विमल निरौला र कृषि विज्ञ दुर्गा थापाले सहजीकरण गरेका थिए ।किसान महासंघ झापाका अध्यक्ष निरौलाले स्थानीय तहबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो राखे । उनले जिल्लाको सम्भावनाबारे अवगत गराउँदै स्थानीय तहहरूले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।
कृषिमा आधुनिकीकरणसँगै उन्नत जातको बिउँको प्रबन्ध गरे मात्रै विकास सम्भव भएको प्रमुख सहजकर्ता कृषि विज्ञ थापाले बताए । उनले विश्वको उदाहरण दिदैं नेपालमा पनि कृषि क्षेत्रको विकास सम्भव भएको बताएका छन् । उनले स्थानीय तहले गर्नुपर्ने काम र पार्टीको भूमिकाको बारेमा सहजीकरण गरेका थिए ।
किसानहरूले भाग्दै आएका समस्या र समाधानको विषयमा छलफल गरिएको थियो । बिर्तामोडस्थित नेकपा एमाले झापाको कार्यालयमा आज भएको कार्यक्रममा कृषि क्षेत्रका सम्भावनाहरूको विषयमा बृहत् छलफल गरिएको थियो । कार्यक्रममा स्थानीय तहहरूले गरेका काम र कठिनाइका बारेमा चर्चा गर्दै आगामी दिनमा गर्नुपर्ने कामको सन्दर्भमा छलफल गरिएको थियो ।
जिल्लाका स्थानीय तहहरूले गरेका काम र गर्न नसकेका कामहरू पार्टी नेतृत्वलाई जानकारी गराइएको थियो । किसान मजदुरको पक्षमा गरिएका कामहरूका बारेमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले धारणा राखेका थिए ।
स्थानीय तहहरूबाट किसानहरू सन्तुष्ट हुन नसकेको भन्दै योजनाबद्ध रुपमा काम गरिनुपर्ने नेताहरूको धारणा थियो । नेपाली कृषि क्षेत्रको विकासमा भारतको हस्तक्षेप भएको कारण किसानले सोचे अनुरूप काम गर्न नसकेको चर्चा भएको थियो ।
झापालाई तेलहन,दलहनमा आत्मनिर्भर बनाउन सकिने भन्दै किसानका नेताहरूले सो अनुरूप स्थानीय तहको सहयोग जरुरी रहेको बताएका छन् । स्थानीय तहले कृषि क्षेत्रमा बजेट व्यवस्था गरेर काम गरिरहे पनि व्यवस्थित योजना नहुँदा परिणाम निकाल्न कठिन भएको किसान अगुवाहरूको भनाई थियो ।
किसानमा गरिने लगानी देखिने गरी हुनुपर्ने भन्दै कृषक नेताहरूले योजनाबद्ध लगानी हुनुपर्ने अधिकांशको धारणा थियो । किसानले उत्पादन गर्ने वस्तुको बजार, उन्नत वीउविजन, मलको प्रबन्ध र उचित मुल्य पाउन नसक्दा किसानहरू समस्यामा परेको बताइएको छ ।
किसानलाई ससानो सहयोग गर्दा पनि ठुलो परिणाम दिन सकिने भन्दै स्थानीय तहहरूलाई कृषि क्षेत्रको विकासमा खाका तयार गरेर काम गर्न सुझाव दिइएको छ । उत्पादनमा राहत दिदैं किसानलाई सामाजिक सुरक्षाको व्यवस्था मिलाइनुपर्ने कृषकहरूको भनाई थियो । किसानलाई उत्पादनमा जलवायु परिवर्तनको असरले समेत क्षति हुने भन्दै कृषि बिमामा ध्यान दिन आग्रह गरिएको छ ।
कार्यक्रममा मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले खरिद ऐनका कारण धेरै नै समस्या भोग्नुपर्ने विचार व्यक्त गरेका थिए । किसानलाई दिनुपर्ने बिउँ खरिद गर्न पनि कानुनी अड्चन हुने भन्दै विभिन्न बाधा अड्चनका कारण काम गर्न समस्या भएको बताए । स्थानीय उत्पादनलाई बजारसम्म पुराउन पनि समस्या हुने गरेको उनको धारणा थियो ।
एमाले नेता देवकुमार राईले कृषि क्षेत्रको विकास नहुनुमा भारतको ठुलो हस्तक्षेप भएको बताए । उनले भारतीय हस्तक्षेपका कारण नेपालमा किसानको प्रगति नभएको उल्लेख गरे ।
कचजकवलका उपाध्यक्ष नवराज भट्टराईले तीन तहको सरकारले कृषि क्षेत्रको विकास गर्न रणनीतिक योजना निर्माण गर्नुपर्ने बताए । कृषि क्षेत्रमा अहिले दक्ष जनशक्तिको समेत आवश्यकता भएको बताउँदै उनले कृषिमा काम गर्ने सरकारी संरचनाहरूले स्थानीय तहसँग समन्वय नगरेको धारणा राखे । झापामा रहेको प्रधानमन्त्री आधुनिक कृषि परियोजना के कसरी काम गर्दैछ भन्ने बारे पालिकाहरू बेखवर रहेको उनको भनाई थियो ।
किसानलाई अनुदानमा दिइएको बिउँ नै खराब पर्ने, उत्पादन नहुने जस्ता समस्याहरू समेत भोग्नु परेको जनप्रतिनिधिहरूले अनुभव सुनाए ।
एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले किसान, जनप्रतिनिधि र पार्टीबीचको समन्वयमा रणनीतिक योजना बनाएर कृषि क्षेत्रको विकासमा लाग्ने बताएका छन् । उनले अहिलेको आवश्यकता भनेको कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्नु रहेको बताए । अध्यक्ष गिरीका अनुसार कृषिमा समृद्ध हासिल गर्ने, भूमिहीनलाई भूमि र आवासविहीनलाई आवासको व्यवस्था गर्दै रोजगारको अवसर प्रदान गर्नु एमालेको दायित्व भएको हो । तत्कालै खाका बनाएर कृषि विकासका काम अघि बढाउने उनको धारणा थियो ।
गौरादहका मेयर छत्रपति सुवेदीले नीति निर्माण गरेरै किसानका समस्या समाधानमा जाने बताए । उनले किसानका कयौँ समस्याहरू समाधान गर्न योजना चाहिने भन्दै समस्यासँगै समाधान खोज्न जरुरी रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले झापाका इन्चार्ज रोमनाथ ओलीले कृषि क्षेत्रको विकासमा किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए । मलविउसँगै प्रविधिमा समेत सहयोग गर्न आवश्यक रहेको ओलीको भनाई थियो । उनले ६ महिनाभित्र कार्यक्रम निर्माण गरेर झापाको समग्र कृषि क्षेत्रको समस्यामा समाधान खोज्न आग्रह गरे ।
स्थानीय विकास विभागका संयोजक शिव ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव तुलसी कार्कीले गरेका थिए ।