चार पार्टीले गरे संयुक्त पहिचानवादी मोर्चा घोषणा

पूर्वमा पहिचानवादी मुद्दा उठाइरहेका चार वटा पार्टीहरूले सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नको लागि संयुक्त पहिचानवादी मोर्चाको घोषणा गरेका छन् । प्रा.डा. महेन्द्र लावतीले नेतृत्व गरेको सङ्घीय संयोजक पहिचानवादी मोर्चा, केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, उकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको प्रदेश नं.१ पुनः नामाङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं.१ समितिले मोर्चाको घोषणा गरेका हुन् ।
एकल जातीय राज्य, भ्रष्टाचार, असमानता, सबै खाले विभेद र अन्याय विरुद्ध लड्दै देश जिम्मा लिन सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नको लागि संयुक्त पहिचानवादी मोर्चाको घोषणा गरेको युवा नेता एलवी पालुङ्वाले जानकारी दिए । उनीहरूको सुनसरीको धरानमा बसेको बैठकपछि एक विज्ञप्ति जारी गर्दै मोर्चाको घोषणा गरिएको नेता पालुङ्वाले बताए ।
सांस्कृतिक विविधताले भरिपूर्ण समाजमा बहु सांस्कृतिक, बहुराष्ट्रिय र बहुल राष्ट्रिय राज्य स्थापना गर्न, पहिचानमा आधारित न्यूनतम १० प्लस सक्कली सङ्घीयता सुनिश्चित गर्न, भ्रष्टाचार नियन्त्रण तथा सुशासन स्थापना गर्न, देशमा समृद्धिको लहर ल्याउन र सर्वसाधारण नेपालीहरूको कल्याण गर्न एउटा इमानदार, जनमुखी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता नागरिकहरूले महसुस गरेका छन् । त्यही टड्कारो आवश्यकता पूरा गर्नको लागि देशमा विस्तारित तर छरिएर रहेका पहिचानवादी सङ्गठनहरू र अभियन्ताहरूलाई एक ठाउँमा ल्याउँदै पाँच महिना भित्र देश जिम्मा लिन सक्षम राजनीतिक शक्ति निर्माणको सुरुवात गर्नको लागि पुस ११ गते धरानमा बसेको जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं.१ पुनः नामाङ्कन अभियान समिति, पहिचानवादी मोर्चाको बैठकबाट संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय भएको हो । हाल चार संगठनबीच मोर्चा निर्माण भएको र अन्य सङ्गठनहरूलाई पनि समावेश गर्दै लगिने निर्णय भएको छ ।
उक्त बैठक डकेन्द्रसिंह थेगिम संयोजक, मधुराज केस्ड सदस्य सचिव र केदार दिमान सदस्य रहेको पहिचान पक्षधर राजनीतिक सङ्गठनहरूको एकीकृत शक्ति निर्माण अन्तर संवाद समितिको सहजिकरणमा बसेको थियो ।
बैठकले नयाँ दल निर्माणसम्मको लागि चक्रीय प्रणालीको आधरमा केन्द्रसिंह थेगिमको संयोजकत्वमा मोर्चाको ४ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरेको छ । विचारधारा, कार्यदिशा, साङ्गठनिक संरचना आदि छलफल गर्दै टुङ्गो लगाउन कार्यदल पनि निर्माण गरेको छ । उक्त कार्यदलमा राष्ट्रिय मुक्ति पार्टीको पनि प्रतिनिधित्व रहनेछ । साथै देशै भरी टोल तहसम्म एक संयोजक सहसंयोजकहरु र एक सदस्य सचिव र विभिन्न विभागहरू सहितको संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय पनि गरेको छ ।बैठकले मोर्चाको तर्फबाट मुक्कुमलुङ आन्दोलन परिचालन समिति संयोजकमा रामभक्त कुरुम्बाङ साथै सहसंयोजकहरु सरूँ सिंधक र दिलेन्द्र कुरुम्बाङ र कोशी नामकरण विरुद्ध आन्दोलनमा मोर्चाको तर्फबाट आन्दोलन परिचालन समिति संयोजक केपी पालुङवा साथै सहसंयोजकहरु जेन्टल लावती, केदार धिमाल, गजेन्द्र पालुङवा, धनबहादुर पन्धाक चयन गरिएको छ । सङ्घर्षको जगमा देशभर चलिरहेका सङ्घर्षहरूलाई जोड्दै मजबुत विकल्प सहितको जनविद्रोहको जग निर्माण गर्दै तेस्रो जनआन्दोलनको तयारी गर्दै मोचो अगाडि बढ्नेछ ।
असमानता र अन्याय विरुद्ध दलित र शिल्पी, मधेसी, आदिवासी जनजाति तथा मूलवासी, अल्पसङ्ख्यक धर्मावलम्बी, महिला तथा अन्य लैङ्गिक समुदायहरू तथा मिटर ब्याज, सहकारी ठगी र लघु वित्त आदिबाट पीडित नागरिकहरूले देशको विभिन्न भागमा उठाइरहेका आन्दोलनहरूमा पनि संयुक्त पहिचानवादी मोर्चाले समर्थन र साथ दिने घोषणा गरेको छ ।
नागरिक हितमा कार्यरत सङ्गठनहरू अभियन्ताहरुक सबैलाई एकल जातीय राज्यको अन्त्य र अधिकार सम्पन्न पहिचान र ऐतिहासिक पृष्ठभूमिमा आधारित सङ्घीयता, थोरै जनसङ्ख्या अपकार छरिएर रहेका समुदायहरूको भागी विशेष स्वायत्त संरचनाहरू जातीय, लैङ्गिक र वर्गीय जनसङ्ख्याको आधारमा राज्यको सबै अङ्गमा समानुपातिक प्रतिनिधित्व धर्मनिरपेक्ष राज्य र गणतन्त्रको सुदृढीकरण र विधिको शासन स्थापित गर्दै नागरिकप्रति उत्तरदायी लोकतान्त्रिक राज्य स्थापना गर्दै प्रतिगमन विरुद्ध लड्न, भ्रष्टाचार नियन्त्रण गर्न र प्रतिस्पर्धात्मक निजी क्षेत्र, राज्य र नागरिकहरूको सक्रिय सहभागितामा देशमा गुणस्तर गतिमा समृद्धिको लहर ल्याउन यस महान् ऐतिहासिक अभियानमा जोडिन हार्दिक आव्हान समेत गरेको छ ।