दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको तयारी सुरु
झापा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ हुने भएको छ । यो दोस्रो पटकको प्रदर्शनी हुन लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी सुरु भएको छ ।
पुस्तक प्रदर्शनीमा कोशी प्रदेशका व्यवसायी पनि सहभागी हुने भएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष जीवन नेपालका अनुसार पुस्तक प्रदर्शनीमा कोशीका पुस्तक व्यवसायी, पाठक, लेखक, पत्रकार, शिक्षक, विद्यार्थी लगायतकाको सहभागिता हुने छ । नेपालका अनुसार झापा, मोरङ, सुनसरी, पाँचथर, धनकुटा लगायतका जिल्लाबाट कम्तीमा १ सय व्यवसायीले प्रदर्शनीको अवलोकन गर्ने छन् । उनले भने, ‘पुस्तक व्यवसायी, प्रकाशक, लेखक, पाठकका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने छ ।’
पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा यस अघि २०८० को मङ्सिरमा साबिककै ठाउँमा पहिलो पुस्तक प्रदर्शनी भएको थियो ।
महासंघ र करेन्ट मिडिया दुवै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै पौष १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्ने महासङ्घका केन्द्रीय सह कोषाध्यक्ष रविन बरालले बताए । उनले भने,‘ यो पुस्तक प्रदर्शनीमा करिब १ लाख ले अवलोकन गर्ने छन् ।
’चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात् गरी प्रदर्शनी आयोजना गर्न लागेको महासङ्घका अध्यक्ष शिव सागर शर्माले जानकारी दिएका छन् ।
पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारत, बङ्गलादेश, श्रीलङ्का, क्यानडा, इटाली, जिम्वाले, सहितका अधिकांश देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू निर्माण हुने छन् । देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहरूको जमघट हुने महासङ्घका महासचिव विष्णु प्रसाद पौडेलले बताए । उनले भने ’प्रदर्शनीमा पुस्तकका साथै नेपालसहित विश्वका विभिन्न देशमा उत्पादित शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ ।’
महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास महासङ्घले लिएको छ । महोत्सव नेपाल तथा अन्य देशका समेत शैक्षिक, आर्थिक, सामाजिक तथा विभिन्न विषय र क्षेत्रका विज्ञहरू बिच छलफल , बहस र अन्तरक्रियासमेत गरिने भएकाले सबैका लागि उपलब्धिमूलक बन्ने छ ।
प्रदर्शनीमा देशभरबाट पुस्तक तथा शैक्षिक सामग्रीसँग जोडिएका ५ हजार भन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरू आउनुका साथै एक दर्जन भन्दा बढी देशका प्रकाशकहरूले प्रदर्शनीमा सहभागी जनाउने महासङ्घले जनाएको छ ।