विवाहको टुंगो लगाउँछन् जासुस
नयाँ दिल्लीको एउटा मलमा गोप्य रुपमा सञ्चालन भइरहेको कार्यालयमा बसेर भावना पालिवाल (परिवर्तित नाम) भावी दुलाहा र दुलहीको वैवाहिक सम्बन्धको भविष्य तय गर्छिन् तर उनी कुनै ज्योतिषी वा पण्डित होइनन् न त उनी लमी नै हुन्। खासमा उनी एक गुप्तचर (जासुस) हुन्।
कतिपयलाई अचम्म लाग्न सक्छ कुनै केटा वा केटीको विवाह तय जासुसले गरेकोमा तर यो कुनै कथा होइन न त कुनै फिल्मको स्क्रिप्ट नै। यो त अहिले भारतमा केटा र केटीको पृष्ठभूमिबारे जानकारी तथा सूचना संकलन गर्न र ती जानकारी र सूचनाको विश्लेषण गरेरमात्र बिहेको छिनोफानो गर्ने शुरु भएको प्रचलन हो।
भारतमा परम्परागत विवाहअघि, व्यावसायिक जासुसहरूको सहयोगमा जानकारी सङ्कलन गरिन थालिएको छ। वैवाहिक सम्बन्ध गाँस्ने वा नगाँस्ने निर्णय लिनुअघि केटा र केटीबारे जानकारी सङ्कलन गर्ने काम व्यावसायिक जासुसहरूले गरिरहेका छन्।
शताब्दीयौँदेखि यो जिम्मेवारी छिमेकी वा आफन्तहरूले गर्ने गरेका थिए तर मानिसहरूले अब उनीहरुमाथि विश्वास गर्न छाडे। जासुसहरूको सञ्जाल ठूला शहरका विलासी कोलोनीदेखि साना शहर र गाउँका गल्लीहरूसम्म फैलिएको छ।
भारतमा अहिले पनि दुई परिवारबीच विवाहका लागि जोडी तय गर्ने परम्परा सबैभन्दा लोकप्रिय छ। यद्यपि, सामाजिक रीतिरिवाजहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन्। धेरै जोडीहरूले परिवारले तय गर्नुअघि नै आफैँ जोडी बनाइरहेका छन्।
यस्तो अवस्थामा, केही परिवार विवाहका लागि इच्छुक युवा प्रेमीहरूको सम्बन्धमा खोजतलास गर्न पण्डित वा लमीहरूको सट्टा जासुसहरू खटाइरहेका छन्।
भावना पालिवालजस्ता हाई–टेक जासुसहरूले यसको मोटो शुल्क लिन्छन्। उनीहरु सासु/ससुरा आफ्नो हुनेवाला ज्वाइँ वा बुहारीको मात्र जासुसी गर्दैनन्, कैयौँ मानिस आफ्ना प्रेमी/प्रेमीका र पति/पत्नीमाथि निगरानी राख्न पनि जासुसको मद्दत लिइरहेका छन्।
जासुसहरूले के पत्ता लगाउँछन्?
नयाँ दिल्लीको एउटा कार्यालयमा काम गर्ने शीला (नाम परिवर्तन) ले ज्वाइँको बारेमा खोजीनिती गर्न जासुस खटाएको बताइन्। उनले समाचार एजेन्सी एएफपीसँग आफ्नी छोरीले प्रेमीसँगै विवाह गर्ने बताएलगत्तै छोरीको प्रेमीको जासुसीका लागि पालिवाललाई जिम्मा लगाएको बताइन्।
शीला भन्छिन्, ‘मेरो वैवाहिक जीवन राम्रोसँग चलेन, जब मेरी छोरीले आफू प्रेममा परेको बताइन्, म उनलाई सावधानीपूर्वक मद्दत गर्न चाहन्छु।'
४८ वर्षीया पालिवालले करिब दुई दशकअघि तेजस जासुसी एजेन्सीको जग बसालेकी हुन्। उनी भन्छिन्, ‘मेरो काम गज्जबसँग चलिरहेको छ।’ उनको टोलीले हरेक महिना यस्ता ८ वटाजति बिहेसम्बन्धी विषय सुल्झाउँछ।
'पछिल्लो एउटा घटनामा, मेरो एकजना ग्राहकले आफ्नो भावी दुलहाको छानबिन गराइन्। जासुसीका क्रममा तिनको तलबको विषयमा ढाँटेको पाइयो। उनले प्रति वर्ष ७० हजार ७ सय डलर कमाउने बताएका थिए तर खासमा उनले ४७ हजार ७ सय डलरमात्र कमाइरहेको हामीले पत्ता लगायौँ', उनले भनिन्।
आजभोलि, बजारमा ससाना क्यामेरासहितका कैयौँ उपकरण किन्न पाइन्छन् जसले यस्ता जासुसी गर्न धेरै सजिलो बनाउँछन्।
अर्को यस्तै जासुसी एजेन्सी चलाउँछन्- ५१ वर्षीय संजय सिंह। यस वर्षमात्र उनको एजेन्सीले विवाहसँग जोडिएका सयौँ केटा केटीको बारेमा छानबिन गरेर जानकारी बटुले।
त्यस्तै, अर्को प्राइभेट जासुस आकृति खत्री उनको भेनस डिटेक्टिभ एजेन्सीमा एक चौथाइभन्दा बढी मामिला विवाहपूर्वका अनुसन्धानसँग सम्बन्धित हुने गरेको बताउँछन्। ‘धेरैजसो मानिसहरू 'दुलहा समलिङ्गी त होइन? भनेर जान्न चाहन्छन्’, उनी भन्छन्।
यो एउटा गोप्य काम हो। पालिवालको कार्यालय शहरको एउटा मलमा छ, बाहिर साइन बोर्डमा भविष्य बताउने एजेन्सी भनि लेखिएको छ। ज्योतिषीले सामान्यतया विवाहको मिति बताइदिन्छ तर भावनाले योभन्दा धेरै जानकारी दिन सक्छिन्।
‘कहिलेकाहीँ मेरा ग्राहकहरू जासुससँग भएको आफ्नो भेटघाटको बारेमा मान्छेहरूले थाहा नपाउन् भन्ने चाहन्छन्’, भावना हाँस्दै भन्छिन्।
थोरै खर्चमा ठोस जानकारी
जासुसहरूलाई काममा लगाएबापतको शुल्क ८–१० हजारदेखि डेढ लाखदेखि २ लाख रूपैयाँसम्म हुन्छ। शुल्क कति निगरानी गर्नुपर्छ भन्ने कुरामा निर्भर गर्दछ। आफ्नो सम्पूर्ण जीवनभरको बचत विवाहमा खर्च गर्ने मान्छेहरूसँगै ऋण लिएर खर्च गर्नेहरूका लागि पनि यो रकम सामान्य मानिन्छ।
ससुरा–ससुराले ज्वाइँ वा बुहारीको अनुसन्धानमात्र गर्न चाहने होइन कि केही प्रेमी प्रेमिकाहरू आफ्नो भावी जीवनसाथीको पारिवारिक पृष्ठभूमि पनि जान्न चाहन्छन्। कयौँ पटक तिनीहरूले शङ्कास्पद प्रेम सम्बन्ध पुष्टि गर्न पनि जासुस खटाउँछन्।
दुई परिवारको सहमतिमा हुने परम्परागत विवाह अघि धेरै प्रकारका अनुसन्धान गरिन्छ। यसमा आर्थिक अवस्था सबैभन्दा महत्त्वपूर्ण र सदियौं पुरानो जातीयताको बिषय पनि हेर्ने गरिन्छ। बलियो जाति व्यवस्था वा धार्मिक आस्थाहरू तोड्ने दुलाहा र दुलहीको हत्या समेत भएका घटनाहरू आउँछन्।
पहिले परिवारका सदस्यहरू, पण्डित वा जोडी मिलाउने लमी अर्थात् पेसेवरहरूले विवाह पूर्व सोधखोज गर्थे। देशको जनसंख्या शहर केन्द्रित हुँदै गर्दा परम्परागत विधिहरूलाई प्रभावहीन बनाउने गरी सामाजिक संरचनाहरू परिवर्तन भएका छन्। अनलाइन र डेटिङ एपहरू मार्फत विवाहहरू तय गरिँदै छन्। ‘विवाहका प्रस्तावहरू टेन्डरमा पनि आउन थालेका छन्’, सिंह भन्छन्।
गुप्तचरका चुनौती...
सुरक्षा दृष्टिले एजेन्टहरूलाई आफ्ना ग्राहकको घरमा पुग्न सजिलो छैन। परम्परागत घरहरूमा यो धेरै सजिलो थियो। जासुसहरूले आफ्नो काम गर्न यताउताको बनावटी कथाहरू बनाउनुपर्छ। ‘कयौँ अवस्थामा यो कानूनी र गैरकानुनी हुनसक्छ', सिंह भन्छन्, 'यद्यपि एजेन्टहरूले कानुनको पालना गर्दै चल्छन्।’
उनले टोलीलाई अनैतिक कार्यहरू नगर्न र उनीहरूको अनुसन्धानले ‘कसैको जीवनलाई बर्बाद गर्न सक्छ’ भन्ने कुरालाई ध्यानमा राख्न आदेश दिएकी छिन्।
आकृतिले आफ्ना एजेन्टहरूका लागि एउटा एप तयार गरेकी छिन् जहाँ उनीहरूले सबै जानकारी सिधै अपलोड गर्न सक्छन् र एजेन्टको फोनमा कुनै पनि जानकारी रहँदैन। यस्तो अवस्थामा समातिए पनि सूचना चुहावट हुने डर हुँदैन। ‘यसले हाम्रो टोलीलाई सुरक्षित राख्छ, कम समय र लागतमा राम्रो नतिजा पनि आउँछ’, उनले भनिन्।
सहायक प्रविधि
केही हजार रुपैयाँको लागतमा निगरानी गर्ने अडियो वा भिडियो रेकर्डिङ जस्ता उपकरणहरू सजिलै पाइन्छन्। ति उपकरणहरू सजिलैसँग लामखुट्टे भगाउने इलेक्ट्रोनिक मेसिनहरू मा लुकाउन सकिन्छ। त्यस्तै गरी कार ट्रयाकिङ्गका लागि चुम्बकीय जी पी एस वा साना क्यामेराहरू पनि धेरै उपयोगी मानिन्छन्।
‘प्रविधिको विकासले सम्बन्धका लागि नयाँ चुनौतीहरू पनि सिर्जना गरिदिएको छ। जति धेरै हाइ टेक हुन्छौं, त्यति नै हाम्रो जीवनमा समस्या आउँछन्। तर, सम्बन्धमा हुनसक्ने धोका पर्दाफास गर्दा प्रविधि र जासुस दोषी मान्न मिल्दैन, आकृति भन्छिन् –झुटको भरमा बनेका सम्बन्ध कुनै पनि अवस्थामा लामो समय टिक्दैन।’