नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज मतदान
नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको आज हुँदैछ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। मतदान आज विहान १० बजेदेखि ४ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा चिरन्जीवी खनालले जानकारी दिए।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्याइसकेको छ।
यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ। केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ। प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन्।
मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन्। मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ।
केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।
त्यस्तै उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ। समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्।
त्यस्तै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् । यता झापा शाखाको पनि नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि ४ बजेसम्म बिर्तामोडको अग्रसेन भवनमा मतदान हुने भएको छ । जम्मा २० कार्यसमिति , १३ प्रदेश परिषद सदस्य र ४ केन्द्रीय परिषद सदस्यका ५४ जना उम्मेद्वार बनेका थिए ।
त्यसमा १३ प्रदेश परिषद सदस्य निर्विरोध भइसकेका छन् भने कार्यसमितिको सहसचिव र दलित सदस्य पद पनि निर्विरोध भएको छ । सहसचिवमा रमेश तिवारी निर्विरोध भएका हुन् । नरेन्द्र ढकालले उम्मेद्वारी फिर्ता लिएपछि तिवारी निर्विरोध भएका हुन् । त्यस्तै किशोर उपरकोटीले उम्मेद्वारी फिर्ता लिएपछि दलित सदस्यमा मनकुमार गदाल निर्विरोध भएका छन् । त्यस्तै चारजना केन्द्रीय परिषद सदस्यमध्ये दुईजना निर्विरोध भएका छन् । विशाल नेम्बाङ र लीला अनमोल निर्विरोध भएका हुन् । आज कार्यसमितिको १८ र केन्द्रीय परिषद सदस्यको २ गरी २० पदका लागि निर्वाचन हुने भएको हो ।
महासंघको झापा शाखाको अध्यक्ष पदका लागि चारजनाले उम्मेद्वारी दिएका छन् । अध्यक्ष पदका लागि एकराज गिरी , डिकेश लामा , राजेन्द्र गौतम र टीकाराम नेतीले उम्मेद्वारी दिएका हुन् । दुईवटा प्यानलसंगै अन्य दुईजनाको अध्यक्षमा उम्मेद्वारी परेको हो । पत्रकार महासंघ झापा शाखामा २२० जना सदस्य रहेका छन् ।