२०८१ माघ २ गते , बुधबार

अलपत्र जीपी र अरनिको माविको भवनबारे भद्रपुर नगरपालिकाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण, बुझाए ज्ञापनपत्र

sajilo news
पार्थ मण्डल
२०८१ मंसीर २५ गते , मंगलबार
अलपत्र जीपी र अरनिको माविको भवनबारे भद्रपुर नगरपालिकाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण, बुझाए ज्ञापनपत्र

झापा । एक दशकदेखि अलपत्र पारिएका गिरिजाप्रसाद कोइराला सभागृह (जीपी भवन) र अरनिको माध्यमिक विद्यालय भवनको बारेमा ध्यानाकर्षण गराउँदै भद्रपुर नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।  दुई दिने भ्रमणमा झापा आएका नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिर्तामोडमा भेटेर भद्रपुर नगरप्रमुख गणेश पोखरेलले वर्षौँदेखि अलपत्र परेको निर्माणाधीन जीपी तथा अरनिको मावि भवनको बारेमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । 

सदरमुकामकै यी दुई ठुला योजनाको काम तत्काल सुचारु गराउन नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरी र नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेले पनि संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । 

भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशाला नजिकै निर्माणाधीन जीपी भवन ९ वर्षदेखि अलपत्र छ । वि.सं. २०७२ असार २८ गतेका दिन तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाको नेतृत्वमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्र सभा सदस्य तथा तत्कालीन सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले एक भव्य समारोहका बीच संयुक्त रुपमा शिलान्यास गरेका थिए । चारै दलका शीर्ष नेताहरु एक साथ जीपी भवनको शिलान्यास गरेपनि काम अझै पूरा भएको छैन । ओली चार पटक, प्रचण्ड र देउवा दुई÷दुई पटक प्रधानमन्त्री बनिसकेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट र तत्कालीन जिल्ला विकास समिति झापा (हालको जिल्ला समन्वय समिति)को रेखदेखमा जीपी भवनको काम सुरु भएको थियो ।  प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रुपैयाँको लागतमा सो भवन निर्माणको ठेक्का लिएको थियो । दुई वर्षभित्र अर्थात् २०७४ असोज २८ गतेसम्म भवनको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो । निर्माणाधीन भवनको लम्बाई ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । 

सो भवनको पहिलो तलामा व्यावसायिक उद्देश्यका लागि २७ वटा सटर निर्माण गरिनेछ । त्यस्तै दोस्रो तलामा दुई वा तीन वटा बैङ्क अटाउने फ्ल्याट र तेस्रो तलामा एक हजार मानिस अटाउने क्षमताको अत्याधुनिक सभा हल बनाइने गरी भवनको काम थालिएको थियो । जसको ९६ वटा पिलर र प्रत्येक पिलर दुई फिट दुई इन्चको वर्गाकारमा फैलिएको छ । अहिलेसम्म भवनको काम ४८ प्रतिशत मात्र सकिएको छ । निर्माण कम्पनीले हालसम्म ९ करोड ९६ लाख रुपैयाँ भुक्तानी लगिसकेको र जिससको खातामा साढे ३ करोड रुपैयाँ भन्दा बढी रकम रहेको जनाइएको छ ।   

त्यस्तै भारतीय राजदूतावासको आर्थिक सहयोगमा भद्रपुर नगरपालिका– ३ स्थित अरनिको माविको भवन अलपत्र पारिएको १० वर्ष भइसकेको छ । राजधानी निर्माण कम्पनी प्रालि सातदोबाटो, ललितपुरले २०७१ फागुनमा तीन करोड ८४ लाख ५६ हजार ७५८ रुपैयाँमा सो भवनको ठेक्का लिएको थियो । 

निर्माण कम्पनीले भवनको काम दुई वर्षभित्र सक्नुपर्ने सम्झौता गरेको थियो । जसकारण त्यहाँ अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा समस्या उत्पन्न भएको छ । दुई तले भवनको काम ४८ प्रतिशत मात्र पूरा भएको छ । २०७४ चैत मसान्तसम्म म्याद थप भएकोमा उक्त समयसम्म पनि निर्माण कम्पनी काम गरेन ।  विद्यालय भवन समयमै नबन्दा विद्यार्थीहरूलाई कक्षा कोठाको अभाव निरन्तर भइरहेको छ । 

अधुरो भवनका कारण विद्यार्थीहरू बारम्बार दुर्घटनामा पर्ने, पानी र जाडोको मौसममा झ्यालढोका नभएको कक्षा कोठामा पढ्नु पर्ने बाध्यता छ । विद्यालय भवनको बारेमा अभिभावक, विद्यालय प्रशासन र भद्रपुर नगरपालिकाले सम्बन्धित निकायहरूमा बारम्बार लिखित तथा मौखिक अनुरोध गर्दा काम सुचारु नहुनु दुःखद भएको प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 

जीपी तथा विद्यालयको भवन नबन्दा यहाँका जनताको सरकारप्रति हेर्ने दृष्टिकोण नकारात्मक बन्न थालेको देखिन्छ । प्रधानमन्त्रीको गृहजिल्लामै यी आयोजनाहरू अलपत्र परेकोले निर्माण कार्यको कानुनी र प्रक्रियागत जटिलताको अन्त्य गरी तत्काल काम सुचारु गराउन ज्ञापनपत्रमा भनिएको छ ।

 

 

 

 

 

 

सम्बन्धित समाचार