२०८३ असार ७ गते , आईतबार
दमकमा सवारी दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु
झापाको दमकमा सवारी दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । १९ दिनअघि दमकको क्याम्पस मोडमा पहिचान हुन नसकेको सवारीसाधनको ठक्करबाट दमक- ५ निवासी ७२ वर्षीय कमल खरेलको मृत्यु भएको हो ।
घाइते कमललाई उपचारका लागि न्युरो हस्पिटल विराटनगर लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि परिवारले चार दिनअघि घरमै ल्याएका थिए । गएराति १०ः२९ बजे उनको मृत्यु भएको मृतकका भाइ टीकाराम खरेलले बताए ।
ठक्कर दिने सवारीसाधनको अझ पहिचान हुन सकिरहेको छैन । प्रहरीले घटनामा संलग्न सवारीसाधनको खोजी गरी कारबाही गर्न हेलचेक्र्याइँ गरिरहेको भाइ टीकाराम खरेलले बताए । मृतक कमल वशिष्ठ आश्रम खरेल प्रवर्द्धन समितिका सदस्य ,खरेल कुल मन्दिर लखनपुरका परिकल्पनाकारसमेत रहेका थिए ।