बुद्धशान्तिमा कुखुराको खोरमाथि नवजात शिशु भेटियो
मेचीनगरको निन्दा खोलाको झाडीमा नवजात शिशु फेला परेको करिब तीन सातापछि बुद्धशान्तिमा पनि बेवारिसे नवजात शिशु भेटिएको छ ।
आइतबार दिउँसो अन्दाजी ३.३० बजे बुद्धशान्ति गाउँपालिका-४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु फेला परेको हो । दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना, सुरुवाल,भेलभेटको तौलीमा पोको पारी छोडेर गएको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना लिम्बूले घाँस काट्न जाँदा फेला पारेकी थिइन् ।
उनले आफ्नो घरमा ल्याएर राखेको भनी अस्थायी प्रहरी चौकी मङ्गलबारेमा जानकारी गराएकी थिइन् । नवजात शिशुलाई त्यस वडाका वडा अध्यक्ष शेरबहादुर राईलाई संरक्षणको लागि जिम्मा लगाई फेला पार्ने महिलाको साथमा प्रादेशिक अस्पताल भद्रपुर पठाएको र शिशुको अवस्था सामान्य रहेको जनाइएको छ ।
यसअघि गत कात्तिक २९ गते मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेको थियो । मेचीनगर- ११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाईँ (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा ती नवजात शिशुलाई फेला पारेकी थिइन् । सामान्य अवस्थाको ती शिशुलाई मेचीनगर –१० न. वडा कार्यालयमार्फत फेला पार्ने अधिकारीलाई नै संरक्षणको लागि जिम्मा दिइएकोमा पाँच दिनपछि शिशुको निधन भएको थियो ।